भीषण शीतआँधीका कारण न्युयोर्कको बफेलोमा ७ जनाको मृत्यु,अमेरिकाभर ज्यान गुमाउनेहरु २३


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

न्युयोर्कको बफेलोमा बम चक्रवात भनेर चिनिने कडा शीतआँधीको परिणाम स्वरूप सात व्यक्तिको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । एरी काउन्टीका कार्यकारी मार्क पोलोनकार्जले आइतबार ट्वीट गर्दै थप चार जनाको मृत्यु भएको पत्ता लगाएपछि मृत्यु हुनेको संख्या तीनबाट सातमा बढेको बताएका हुन् ।

तूफान जस्तै शक्तिशाली हावाहुरी र हिमपातको अवस्थाकाले जनजीवन प्रभावित भएको हो । बफेलो एयरपोर्ट मंगलबारसम्म बन्द छ। न्युयोर्कका गभर्नर क्याथी होकुलले सहरका प्रायः सबै फायर ट्रकहरू परिस्थितिका कारण फसेको बताएकी छिन् ।

न्युयोर्क

राष्ट्रिय मौसम सेवाले आइतबार बिहान ७ बजेसम्म बफेलोको विमानस्थलमा ४३ इन्च हिमपात भएको जनाएको छ। उद्दारकर्मीहरु समयमै पुग्न नसक्दा बफेलो क्षेत्रमा दुई जनाको मृत्यु भएको थियो । नियाग्रा काउन्टीमा कार्बन मोनोअक्साइड विषाक्तताबाट अर्का न्यूयोर्कवासीको मृत्यु भएको छ।

अमेरिकाभर चिसो मौसमका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । ओहायो, कन्सास, भर्मन्ट, कोलोराडो, विस्कन्सिन र मिजौरीमा पनि मौसम सम्बन्धी मृत्यु पनि रिपोर्ट गरिएको छ ।

शियाटल

तापक्रम मिनियापोलिसमा माइनस ९ डिग्री, शिकागोमा २ डिग्री, डेनभरमा ३ डिग्री, न्यूयोर्कमा १५ डिग्री, एट्लान्टामा १६ डिग्री र डलासमा २१ डिग्री तापक्रम झर्ने पूर्वानुमान गरिएको थियो । आइतबार विहान मेन, न्युयोर्क, न्यु ह्याम्पशायर, भर्जिनिया र फ्लोरिडामा क्रिसमसको बिहान १ लाख ६५ हजार भन्दा बढी ग्राहकहरू विद्युतविहिन थिए ।

फ्लोरिडा

क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकामा ३ हजार भन्दा बढी उडानहरू रद्द गरिएका थिए र क्रिसमसको दिनमा अहिलेसम्म १७ सय भन्दा बढी उडानहरू रद्द गरिएका छन्।

खराब मौषमका कारण उडानहरु प्रभावित भएपछि डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरु ।

न्युयोर्कमा खराब मौषमका कारण रातभर गाडीमा फस्नेमा कैयन नेपालीहरु समेत

न्युयोर्कको बफेलो क्षेत्रमा गाडीमा फस्नेमा कैयन नेपालीहरु समेत रहेका छन् । बफेलो क्षेत्रमा यात्रा गर्ने क्रममा र दैनिक कामका लागि आवतजावत गर्ने क्रममा उनीहरु गाडीमा फसेका थिए ।

बफेलो क्षेत्रमा काममा जाने क्रममा ५ जना नेपालीहरु हिजो दिउसो २ बजेदेखि फसेकोमा २६ घण्टापछि शनिबार दिउसो ४ बजेतिरमात्र सकुशल सुरक्षित स्थानमा पुगेको त्यहाँबाट लोकनाथ अधिकारीले जानकारी दिनुभयो । उनीहरु तेल बचाउन एउटै गाडीभित्र बसेका थिए भने २६ घण्टापछि गाडी त्यही छाडेर सुरक्षित स्थानमा पुग्न सफल भएका थिए ।

त्यस्तै बफेलो क्षेत्रहुँदै गन्तव्यमा जादै गरेका ४ जना नेपालीभाषीहरु पनि रातभर फसेका थिए । उनीहरु हिजो दिउसो ४ बजेदेखि बफेलोको साउथ पार्कमा फसेकोमा विहान ८ बजे गाडी छाडेर सुरक्षित स्थलमा पुग्न सफल भएका थिए । उनीहरुले त्यसक्षेत्रका नेपालीहरुलाई सम्पर्क गरेर उनीहरुको घरमा पुग्न सफल भएको जनाइएको छ ।

गाडीमा पेट्रोल हाल्ने क्रममा किनेको एककप कफी गाडीभित्र रहेकाले त्यही एककप कफी ४ जनाले बाँडेर खाएको भरमा उनीहरुले १६ घण्टा गाडीमा बिताएका थिए । गाडीमा तेल सकिएपछि उनीहरु गाडीबाट बाहिर निस्केर सुरक्षित स्थानमा पुग्न सफल भएका थिए । हिमपात र हावाहुरीका कारण आवागमनमा असर परेको र भिजिबिलिटी समेत नभएकाले समस्या भएको त्यहाँबाट लोकनाथ अधिकारीले जानकारी दिनुभयो ।

फसेका व्यक्तिले प्रहरीलाई खबर गर्दा प्रहरीले समेत केही गर्न नसक्ने बताएको थियो । प्रहरीले बासिन्दाहरूलाई उनीहरूको जीवन खतरामा नभएसम्म ९११ मा फोन गर्न निरुत्साहित गरेको छ । त्यसक्षेत्रमा कैयन नेपालीहरुका घरमा समेत विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

 

 

 

 

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com