भावनात्मक द्वन्द्वमा राजेश हमाल


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

– किशोर नेपाल

हामी कुरा गर्न थाल्यौं । कुरा सुरु भयो पत्रकारिता र समाचारको संसारमा आएको परिवर्तनबाट । राजेशले हातमा रहेको मोबाइल देखाउँदै भने, ‘अचेल म अखबारको ग्राहक बनेको छैन । कागजको थुप्रो लाग्छ घरमा । कता राख्नु ? सबै समाचार यसैमा आउँछ र विचार पनि यसैमा आउँछ । जीवन सजिलो भएको छ होइन ?’

जवाफमा म भन्छु, ‘तर बिहानको चियासँगै अखबारको बास्ना आएन भने कस्तो–कस्तो लाग्छ । लाग्दैन तपाईंलाई ?’

‘त्यो त हो’, राजेश भन्छन्, ‘त्यो स्मेलको इफेक्ट त खतरनाक हुन्छ, टक्सिक । मलाई पनि मन पर्छ
त्यो बास्ना ।’

नेपाली सिनेमामा राजेश हमालको इफेक्ट त्यस्तै टक्सिक छ । सिनेमा हेर्ने हरेक नेपालीले उनलाई चिनेको छ, अद्भुत माया गरेको छ र सम्मान गरेको छ । राजेश नेपाली सिनेमाका मिथक भैसकेका छन् । नेपाली सिनेमाको इतिहासको कालखण्डका एउटा यस्तो पात्र जसको उल्लेख नगरी त्यो इतिहास नै लेख्न सकिँदैन, उनले २२ वर्षसम्म लगातार दिनहुँ सुटिङ गरे । ती २२ वर्षमा एक दिन पनि छुटेन सुटिङ । टाउको दुखे पनि उनले भनेनन् । जरो आए पनि आराम गरेनन् । सन २०१२ देखि २०१५ सम्म उनले वर्षको दुईवटा फिल्म खेले । अहिले दुई वर्ष भयो । शकुन्तला र बाग्मतीपछि उनले फिल्म खेलेका छैनन् । बडो हलुका भएको छ । बाग्मती उनले सोचेको एउटा राम्रो थिम भएको सिनेमा थियो । त्यो सफल भएन । राम्रो भन्नु र जीवन्त भन्नु दुई बेग्ला–बेग्लै इस्यु हुन् । निर्देशकले जे कुरालाई राम्रो सोच्छ आफूलाई त्यो राम्रो लाग्दैन, तर कलाकारले जो सर्जक हो उसको परिधिभित्र त बस्नैपर्छ ।

हो, बितेका दुई वर्षयता राजेशले सिनेमामा काम गरेका छैनन् । उनी आफैं प्रडक्सन हाउस खोल्ने तयारीमा लागेका छन् । उनले एउटा सिनेमाको खाका तयार गरिसकेका छन, मोटामोटी खाका । सिनेमाको प्याटर्नमा परिवर्तन खोजेका छन् उनले । आफ्नो पहिलो सिनेमा कस्तो हुनेछ ? भन्न यकिन दृष्टिकोण बनाएर मात्र उनी त्यसलाई फ्लोरमा लान चाहन्छन् । अहिले त्यसको डिटेलिङमा लागेका छन् राजेश । उनले सिनेमाको निर्देशन आफैंले गर्ने विचार गरेका छन् ।

‘सिनेमा बनाउन आइडिया मात्र भएर पुग्दैन । आफ्नो मनमा लागेका भावना संकलन गरेर यस्तो सिनेमा बनाउँछु भनेर सोच्नु एउटा कुरा हो । त्यसमा आफ्नो दृष्टिकोणलाई कहाँ जोड्न सकिन्छ ? त्यो हेर्नुपर्छ,’ राजेश भन्छन्, आजको दर्शकले यथार्थ पनि खोज्छ । मनोरञ्जन पनि खोज्छ । यी दुवैलाई ब्लेन्ड गर्न सकिएन भने राम्रो सिनेमा बन्दैन ।’

के उनीे पहिलेको तुलनामा केही शिथिल भएका हुन त ? जवाफमा राजेश भन्छन्, ‘होइन, म शिथिल भएको छैन । अचेल म ट्राभेलिङ बढी गर्दैछु । पुस्तकहरू पढ्दैछु । अहिले ‘अफ्रिकन्स इन अमेरिका’ पढ्दैछु । मलाई मानिसको ओरिजिनले आकर्षित गर्छ । मानिसको उत्पत्तिको इतिहासमा मेरो गहिरो रुचि छ । यसबाहेक म सामाजिक सेवाको दायित्व वहन गर्दैछु । थुप्रै संस्थाको ब्रान्ड एम्बेसडर भएको छु । तिनका पनि आफ्नै दायित्व हुन्छन् । केही व्यवसायिक काम पनि छन् ।’ ‘विवाहपछि जीवन त व्यवस्थित भएको होला नि, होइन ?’ ‘वैवाहिक जीवनसँग मेरो कुनै गुनासो छैन । मेरी पत्नी सुन्दर र शालिन छिन् । यतिचाहिं हो कि एक्लै बस्दा पनि मलाई खासै फरक परेको थिएन ।’

राजेश सिनेमा संस्कृतिमा आएको परिवर्तनको व्याख्या गर्दै भन्छन्, ‘अहिले मानिसको हातहातमा सिनेमा छ । सिनेमा हलमै गएर हेर्नु पर्दैन । पहिलेको जस्तो जनताको विशाल समूहमा (हलमा) गएर सिनेमा हेर्ने आकर्षण समाप्त भएको छ । पहिले सिनेमाले जनतालाई परिचालन गथ्र्यो । अहिले त्यस्तो छैन । भलाद्मी दर्शकहरू अतिरिक्त मनोरन्जनका लागि मल्टिप्लेक्समा जाने चलन सुरु भएको छ । हाम्रा गाउँघरमा मल्टिप्लेक्स छैनन्, तर मोबाइलले मल्टिप्लेक्सको काम गरेका छन् ।’

राजेश भन्छन्, ‘पछिल्लो समयमा नेपाली समाजमा निकै ठूलो सांस्कृतिक परिवर्तन आएको छ । नेपाली दर्शकले नेपाली सिनेमामा गम्भीरतापूर्वक नेपालीपन खोजेको हुन्छ । मैले हालै बनेका सिनेमा ‘जात्रा’ र ‘छक्कापन्जा’हेरें । अलग प्रकृतिका यी दुवै सिनेमामा नेपालीपन छ ।’

‘सिनेमामा सर्वसाधारण नेपाली दर्शक आफ्ना भावना, मर्म, दर्द र व्यथाहरू सबै कुरा प्रतिविम्बित भएको हेर्न चाहन्छन्,’ राजेश भन्छन्, ‘त्यो मनोदशा मिश्रित समस्याको समाधानका रूपमा जनताले नायकको अभिनयलाई लिन्छन् । ‘हे…..’ भनेर राजेश हमाल दृश्यमा प्रवेश गर्नासाथ जनता जोस्सिन्थ्यो । सिनेमामा आफ्ना सपना साकार भएको देखेपछि ऊ आश्वस्त हुन्थ्यो । अहिले पनि त्यही हो । शैली फरक भएको छ । प्रस्तुतीकरणमा ताजापन छ ।’

राजेश हमालमाथि सिनेकर्मीहरूले एउटा आरोप लगाउने गरेका छन् कि उनले नेपाली सिनेमाको उत्थान र परिवर्तनका लागि केही गरेनन् । राजेश उक्त आरोपलाई आंशिक सत्यका रूपमा लिन्छन् । उनले परिवर्तनको प्रयास नगरेका होइनन्, तर समय नै त्यस्तो थियो जहाँ मानिस सम्पूर्णमा ‘प्रिभेल’ गर्न सक्दैनथ्यो । एकातिर सिनेमाको निर्माणलाई निरन्तरता दिनुपर्ने आवश्यकता थियो, अर्कातिर परिवर्तनको आन्दोलन पनि चलाउनुपर्ने थियो । ती दुवै कुरा सँगसँगै जान सक्दैनथे । उनी सिनेमाको निर्माणलाई स्थायित्व दिन यसको निरन्तरतामा लागे । उनलाई लाग्यो, सिनेमा उद्योगको स्थायित्व नभएसम्म परिवर्तन सम्भव छैन ।

नेपाली सिनेमाको विकासको आग्रह र चाहना गर्ने कसैले पनि यसको इतिहास र समयलाई हेर्नुपर्छ । जुन समयमा म सोह्रदेखि अठार घण्टा खटिन्थें त्यतिबेला अब अर्को सिनेमा कहाँबाट आउने हो भनेर सोच्नुपथ्र्यो । इतिहासको यो पाटोमा उभिएर यसको अर्को पाटोको कुरा गर्नु जति सजिलो छ, तर यथार्थ अप्ठेरो र उबडखावड छ । नेपालका समीक्षकहरूले त्यसलाई बुझेका छैनन् । उनी आफ्नो समकालीन समयलाई सम्भँmदा नीर शाह, जल शाह, सरोज खनाल, निरुता सिंह, स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, बिपना थापा र करिश्मा मानन्धरलाई सम्झन्छन् । स्वर्गीय दीपक रायमाझी र वसन्त राणाको सम्झनाले भावुक बनाउँछ उनलाई ।

यसमा कुनै शंका छैन, राजेश हमाल नेपाली सिनेमाका सबैभन्दा सफल कलाकार हुन् । सफलताले उनलाई बढी विनम्र बनाएको छ । उनको आफ्नो भावनात्मक संघर्ष जारी छ । भन्छन्, ‘मेरो आफ्नो यात्रामा व्यक्तिगत र भावनात्मक द्वन्द्व धेरै छ ।’ राजेशको विचारमा मानिसले कहिलेकाहीं करेन्टसँगै बग्नु जरुरी हुन्छ । सधैं एन्टी करेन्ट हिंड्नु पनि हुँदैन । अनि वर्तमान समय नि ? राजेशले मनको कुनै कुनामा राजनीतिको दियो सल्काएर राखेका छन् । हमाल भन्छन्, ‘हामी आफूलाई स्वतन्त्र र स्वाधीन देश भन्छौं । यो नै विवादास्पद भयो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com