महिला हिंशाविरुद्ध न्युजर्सीमा रेडसारीः शिव परियार, निशा सुनार र बिमल डाँगीले नचाए दर्शक


प्रकाशित मिति : कार्तिक २०, २०७९ आईतबार

महिला हिंशाविरुद्ध हडसन स्पीक्सको आयोजनामा न्युजर्सीमा रेडसारी कार्यक्रममा वक्ताहरुले घरेलु हिंशामा परेका पीडितहरुलाई मौन नबस्न आग्रह गरेका छन् । अमेरिकामा नेपाली समुदायमा पनि घरेलु हिंशा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै वक्ताहरुहरुले हरेकप्रकारका घरेलु हिंशा र यौनहिंशाविरुद्ध पीडितहरु बोल्नुपर्नेमा जोड दिएका छन् ।

घरेलु हिंशा पीडितहरु धेरैजसो महिला हुने भएतापनि पुरुषहरुको संख्या समेत उल्लेख्य रहेको हडसन स्पीक्सकी घरेलु हिंशाविरुद्धकी डाइरेक्टर डाक्टर विष्णुमाया परियारले बताइन् ।

जोसुकै व्यक्ति घरेलु हिंशामा परेको भएतापनि आफूहरु सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै उनले यौनहिंशा र घरेलु हिंशामा परेकाहरुलाई हडसन स्पीक्सको हटलाइन नम्बरमा सम्पर्क गर्न अुनरोध गरिन् ।

जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोयस वाटरम्यानको समेत उपस्थीति रहेको कार्यक्रममा न्युजर्सीको राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद एन्जेला म्याकनाइटले घरेलु हिंशाविरुद्ध हडसन स्पीक्सको पहलको प्रशंसा गरिन् ।

त्यस्तै हडसन काउन्टी अभियोजनकर्ताको कार्यालयका क्याप्टेन हाभियर टोरोले घरेलु हिंशा र यौनहिंशामा परेका पीडितहरुलाई सघाउन आफूहरुको कार्यालयले समन्वय गरिरहेको जानकारी दिदै हडसन स्पीक्ससँग मिलेर काम गर्न पाउँदा खुशी व्यक्त गरे ।

डिटेक्टिभ रस्मिका वेस्ले समेत उपस्थीत कार्यक्रममा हडसन काउन्टी अभियोजनकर्ताको कार्यालयकी एजेण्ट रमनदीप कौरले आफूपनि कुनैबेला घरेलु हिंशा पीडित रहेको उल्लेख गर्दै घरेलु हिंशाविरुद्ध बोल्न सबै पीडितलाई आव्हान गरिन् ।

कार्यक्रममा हड्सन स्पीक्समा यौनहिंशाविरुद्ध आउटरिच कोअर्डिनेटर नताली अकेलले हडसन स्पीक्सले घरेलु हिंशाविरुद्ध गरेको कामबारे जानकारी दिइन् ।

त्यस्तै यौन आक्रमण विरुद्धको न्यू जर्सी गठबन्धन एनजेकासामा सर्वाइभर सेवा विशेषज्ञ सोलेन्ज रामकिसुन, संयुक्त राष्ट्रसंघमा पर्यावरण र मानव अधिकार समूहसँग आवद्ध युएन वुमन स्यान्डी हेकर, एडवान नेपालकी अध्यक्ष बिन्दु परियार थापा, साहित्यकार गीता खत्री, पत्रकार किशोर पन्थी, सामाजिक व्यक्तित्वहरु अमित शाह, रेणु शर्मा लगायतले घरेलु हिंशाविरुद्धको हड्सन स्पीक्सको अभियानको प्रशंसा गर्दै घरेलु हिंशा र यौनहिंशाविरुद्ध सबैले आवाज उठाएमात्र सभ्य समाजको निर्माण हुने बताए ।

कार्यक्रममा चर्चित कलाकारहरु शिव परियार, निशा सुनार र बिमल डाँगीले आफ्ना लोकप्रिय गीतहरुमार्फत दर्शक नचाएका थिए भने कलाकार वशन्ती राईले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा कलाकारहरु कविना महर्जन, सम्राट महर्जन, रोशा भट्ट, रमाना भट्ट लगायतले समेत प्रस्तुत दिए । कार्यक्रमको संचालन प्रज्ञा सापकोटा र अनुपमा सापकोटाले गरेका थिए ।

रेड सारी इभेन्ट बोलो बहन (स्पिक सिस्टर)को वार्षिक सिग्नेचर कार्यक्रम हो । यो जर्सी सिटीको हडसन काउन्टीमा अवस्थित यौन हिंसा विरुद्ध हडसन स्पीक्सको पहल हो। यसले हडसन काउन्टीमा घरेलु र यौन हिंसाको सामना गरिरहेका दक्षिण एसियाली महिलाहरूका लागि निःशुल्क सेवाहरू प्रदान गर्दछ।

बोलो बहनले यो पाँचौं वार्षिक सिग्नेचर कार्यक्रम हो । यो कार्यक्रममार्फत दक्षिण एसियाली समुदायले अनुभव गरेका सामाजिक मुद्दाहरूमा चेतना जगाइदै आएको छ । यो कार्यक्रमलाई दक्षिण एसियाली महिलालाई गौरव र सम्मानका साथ लिने कार्यक्रमका रुपमा लिने गरिन्छ ।

आफूहरुले हडसन काउन्टी भरि एक अर्काबाट सिकेर समूह, संस्था र व्यक्तिहरूको विस्तृत विविधतामा पुगेर संवाद सिर्जना गर्ने प्रयास गर्ने तथा घरेलु हिंशाका अपराधबाट प्रभावित सबैलाई सशक्तिकरण, समर्थन र वकालत गरेर शिक्षा र जागरूकता मार्फत यौन हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको हडसन स्पीक्सको भनाई छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com