चीनमा नेपाली स्रष्टा


प्रकाशित मिति : असार २७, २०७४ मंगलबार

असार २७, २०७४- नेपाल र चीनबीच साहित्यिक आदानप्रदानको क्रम बढ्दो छ । हरेक वर्ष युनानमा हुने कुन्मिङ एक्स्पोअन्तर्गतको अन्तर्राष्ट्रि्रय साहित्य सम्मेलनमा ६ वर्षदेखि नेपाली स्रष्टाको सहभागिता निरन्तर छ । यसपटक चिनियाँ लेखक संघले तीनवटा प्रान्तमा नेपाली स्रष्टालाई बोलाएर अन्तरक्रिया गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट चीन गएको टोली कुन्मिङ, छेन्दु र बेइजिङमा साहित्यिक कार्यक्रम गरेर हालै मुलुक फिरेको छ । प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको नेतृत्वमा प्राज्ञहरू प्रा. हेमांगराज अधिकारी, प्रा. उषा ठाकुर, प्रा. ज्ञानु पाण्डे, मातृका पोखरेल, विवश पोखरेल र शशी चालिसे टोलीमा संलग्न थिए ।

पहिलो दिन चिनियाँ लेखक संघको युनान प्रान्तले कुन्मिङमा स्वागतसहितको कार्यक्रम गरेको उपकुलपति घिमिरेले बताए । उनका अनुसार संघको युनानका प्रतिनिधि फान लिङले स्वागत गर्दै नेपाल र चीनबीच साहित्यिक आदानप्रदानको आयामबारे धारणा राखे । उनले नेपाली र चिनियाँ साहित्यकारले रचना गर्ने विषयहरू समान रहेको बताए । नेपालका साहित्यकारले जस्तै चिनियाँ साहित्यकारहरूले पनि पहाडी जनताका कथा लेखिरहेको उनको भनाइ थियो ।

उपकुलपति घिमिरेले चाहिँ नेपाल र चीनबीचको सम्बन्धको ऐतिहासिकता खुलाउँदै साहित्यले झन बलियो पार्ने दाबी गरे । उनका अनुसार टोलीका अन्य सदस्यहरूले पनि नेपाली साहित्यका विविध पक्षबारे चर्चा गरेका थिए । ‘कार्यक्रममा चीन र नेपालका समकालीन साहित्यको वर्तमान अवस्थाबारेमा पनि चर्चा भयो,’ उनले भने ।
सोही दिन नेपाली प्रतिनिधि मण्डललाई युनानका विभिन्न ऐतिहासिक थलो घुमाइयो । यसपछि टोली बेइजिङ पुगेको थियो ।

बेइजिङमा आयोजित कार्यक्रममा चिनियाँ लेखक संघका अध्यक्ष छाङ ताओले नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ लेखक संघबीच भएको साहित्यिक सद्भाव आदानप्रदान सम्झौताअनुसार दुई देशबीच भएका विगतका सम्बन्धहरूको स्मरण गर्दै भविष्यमा यसले अझै गति लिने विश्वास व्यक्त गरेको घिमिरेले जनाए । सोही अवसरमा लुसुन साहित्य प्रतिष्ठानका अध्यक्ष क्यु हुवादोङले चिनियाँ सरकारले चीनका अल्पसंख्यक जातिको भाषा र साहित्यलाई अत्यन्तै महत्त्व दिएको दाबी गरे । यसपछि नेपाली टोलीले ग्रेट वाल, अरनिकोद्वारा निर्माण गरिएको श्वेतचैत्य लगायत बेइजिङका महत्त्वपूर्ण क्षेत्रहरूको अवलोकन गरेको घिमिरेले जनाए ।

सिन्चुवानले प्रान्तको राजधानी छेन्दुमा पनि निकै अर्थपूर्ण कार्यक्रम भएको उनले जनाए । चिनियाँ लेखक संघ, सिन्चुवानका उपाध्यक्ष गोङ छेउले सिन्चुवानका लेखकहरूको ऐतिहासिक योगदान र त्यहाँको लेखक संघको सांगठनिक अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमपछि प्रतिनिधिमण्डललाई रेडपान्डा चिडियाखाना, संग्रहालयलगायत छेन्दुका महत्त्वपूर्ण क्षेत्रहरूको अवलोकन गराएको थियो । एक साता लामो चीनको साहित्यिक सद्भाव भ्रमण निकै उपलब्धिपूर्ण रहेको उपकुलपति घिमिरेले दाबी गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com