न्युयोर्कमा यसरी मनाइयो छठ


प्रकाशित मिति : कार्तिक १४, २०७९ सोमबार

फोटो:  अजित शाह

नेपालको तराई क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठपर्व अमेरिकामा बस्ने तराईबासी नेपालीहरुले पनि मनाएका छन् । वेस्टचेस्टरमा न्युयोर्कमा बस्ने तराईबासी नेपालीहरुले श्रद्धा , भक्ति र विधिपूर्वक छठपर्व मनाएका हुन् । वेस्टचेस्टरको स्कारडेलमा अवस्थित डियरहिल लेनमा धार्मिक विधिपूर्वक छठपर्व मनाइएको हो ।

सामाजिक व्यक्तित्व डाक्टर विनोद शाह र उहाँकी धर्मपत्नी सुजाता शाहको आयोजनामा गरिएको छठपूजामा न्युयोर्क निवासी नेपालीहरुको बाक्लो उपस्थीति रहेको थियो । आइतबार साँझ अस्ताउँदो सूर्यको र सोमबार विहान उदाउँदो सूर्यको पूजा आराधना गरेर छठपर्व मनाइएको हो । छठपर्व मनाउदा परम्पराअनुसार छठीमाताको भजन गाइएको थियो ।

नेपालमा परिवारका सबै सदस्यहरु बसेर अझ रमाइलोका साथ छठपर्व मनाउने भएपनि अमेरिकामा यसरी जम्मा भएर छठपर्व मनाउन पाउनु निकै खुशीको कुरा रहेको डाक्टर विनोद शाहको भनाई छ । पंचमीका दिनदेखि ब्रत बस्ने महिलाले निष्ठापूर्वक जलाशयमा स्नान गरी छठपर्व मनाउने परम्परालाई नै कायम राख्दै छठपर्व मनाइएको हो ।

परम्परा अनुसार छठका दिन सांझ अस्ताउदो सूर्यलाई जलाशयमा उभिएर पुजासहित अर्घ दिइएको थियो । पूजामा शाहपत्नी सुजाता शाह लगायत सहभागी हुनुभएको थियो । प्राकृतिक जलाशयमा छठ मनाउन सम्भव नभएपनि कृतिम पोखरीको पानीमा डूबुल्की मारेर अस्ताउदो सूर्यलाई अर्घ दिइएको हो । अस्ताउदो सूर्यलाई अर्घ दिएको भोलिपल्ट उदाउदो सूर्यलाई पनि अर्घ दिएर छठ पूजाको विसर्जन गर्ने चलन रहेको छ ।

पवित्र मनले छठ पर्व मनाउदा पारिवारिक कल्याण, सन्तानसुख र मनोकामना पूरा हुने विश्वास रहेको छ । छठ मनाउन वेस्टचेस्टर पुगेका तराईबासी नेपालीहरुले सूर्यको उपासना गरी संस्कृति र परम्पराअनुसार छठको विसर्जन गरेका हुन् ।

शुद्ध भावनाले ब्रत गर्नाले तुरुन्त फल पाइने विश्वास रहेकाले ब्रतालुहरुले मात्र नभइ ब्रतालुका परिवारले समेत संस्कृतिको पालना गरेका थिए । छठको प्रसाद पनि नेपाली परम्परा अनुसार नै नरिवल , केरा , सुन्तला लगायतका फलपूmहरु राखेर तयार पारिएको थियो ।

समाजमा उदाउदो र प्रतिष्ठितलाई सबैले ढोग्ने र डूब्न लागेको घाम अर्थात् गरिब र बेसहारालाई कसैले नहेर्ने प्रचलन रहेपनि अमेरिकामा बस्ने तराईबासी नेपालीहरुले परम्पराअनुसार उदाउदो र डूब्न लागेको सूर्यको आराधना गरेर जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश समेत दिएका छन् ।

डाक्टर विनोद शाह र उहाँकी पत्नी सुजाता शाहले विगत केही वर्षदेखि यसरी नै छठपूजाको आयोजना गर्दै आउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com