न्युयोर्कमा सबैभन्दा ठूलो नेपाली डायस्पोराको प्रतिनिधित्व गर्न पाउँदा गर्व – अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज


प्रकाशित मिति : कार्तिक १२, २०७९ शनिबार

न्युयोर्कको डिस्ट्रिक्ट १४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदबार अलेक्जान्ड्रिया ओकासियो कोर्टेज  न्युयोर्कको नेपाली समुदायमाझ परिचित नाम हो । ३३ बर्षकी यी प्रगतिशिल उम्मेदबारले सन् २०१९ देखि संसदमा यो क्षेत्रको प्रतिनिधित्व गर्दै आएकी छिन् । यो डिस्ट्रिक्टमा ब्रोंक्सको पूर्वी भाग र उत्तर–मध्य क्वीन्सको भाग रहेको छ भने झण्डै १७ प्रतिशत एसियनहरु रहेका छन् । क्वीन्सको भागमा कलेज पोइन्ट, कोरोना, इस्ट एल्महस्र्ट, एल्महस्ट, ज्याक्सन हाइट्स, र उडसाइडका भागहरु समावेश छन्, जहाँ नेपाली समुदायको बाक्लो बसोबास रहेको छ ।

अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले अमेरिकाको सबैभन्दा ठूलो नेपाली डायस्पोरा समुदायको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्ने उनको कार्यालयले खसोखासलाई बताएको छ । यसबर्ष २ मिलियन डलरको पहिलो दक्षिण एसियाली समुदाय स्पेस सिर्जना गर्न कोर्टेजले भूमिका खेलेकी थिइन् । छाया सीडीसीबाट सञ्चालित यो स्पेसले अध्यागमन कानुनी सहायता, आवास परामर्श, र बेरोजगारी बीमा जस्ता सुविधाहरूमा पहुँच प्रदान गर्नेछ ।

सबैकुरा नेपाली अनुवाद र व्याख्या मार्फत पहुँचयोग्य बनाइएको अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजको कार्यालयले बताएको छ । उनले यस उपलब्धिको बारेमा उनको कार्यालयले यही महिना जारी गरेको भिडियोमा समेत बताएकी छिन् । भिडियोमा उनले नेपाली समुदायको मन जित्न केही लाइन नेपाली भाषामा समेत बोलेकी छिन् ।

अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज

नेपाली साना व्यवसायहरू सफल भएको देख्नु पाउनु अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजका लागि महत्वपूर्ण रहेको उनको कार्यालयले बताएको छ । उनले ज्याक्सनहाइट रहेको नेपाली रेष्टुरेण्ट भान्सा घरमा गएर उनीहरूको चिन्ता सुन्नेदेखि ज्याक्सनहाइटमा नै रहेको गोर्खाली रेष्टुरेण्टको ढोका खुला राख्न मद्दतको लागि समर्थनको लागि आह्वान गर्नेसम्मका काम गरिन् । उनले छिमेकीहरूलाई फस्टाउन मद्दत गर्न काम गरिरहेको उनको कार्यालय बताउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै जेनिफर राजकुमार न्युयोर्कको डिस्ट्रिक्ट ३८ बाट प्रतिनिधित्व गर्ने न्युयोर्क राज्य सभाकी सदस्य हुन् । उनले डिस्ट्रिक्ट ३८ लाई पुन प्रतिनिधित्व गर्नका लागि नोभेम्बर ८ मा हुने चुनावमा लड्दैछिन् । डिस्ट्रिक्ट ३८ मा ग्लेन्डेल, ओजोन पार्क, रिचमन्ड हिल, रिजवुड, र वुडहेभनका भागहरु पर्छन् । न्युयोर्कको नेपाली अमेरिकन समुदायमाझ लोकप्रिय उनले दिपावलीलाई सार्वजनिक विद्यालय विदा मनाउने बिलको स्पोन्सर गरेका कारण उनको चर्चा अझ चुलिन पुग्यो ।

जेनिफर राजकुमार

न्युयोर्कमा नेपाली अमेरिकन हेरिटेज डे र माउन्ट एभरेष्ट डे मनाउने प्रस्तावहरु राज्य संसदबाट पारित गराएका कारण उनी न्युयोर्कका नेपाली समुदायमाझ थप परिचित र लोकप्रिय बन्न पुगेकी छिन् । नेपाली समुदायका कार्यक्रमहरुमा पनि उनको बाक्लो उपस्थीति देखिदै आएको छ । उनले सन् २०२१ देखि राज्य संसदमा यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएकी छिन् ।

त्यस्तै जेसिका रामोस न्युयोर्क राज्यको सिनेटको डिस्ट्रिक्ट १३ बाट उम्मेदबारी दिएकी छिन् । सन् २०१९ देखि न्युयोर्क राज्य सिनेटमा यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएकी उनी नेपाली समुदायमाझ परिचित छिन् । उनको डिस्ट्रिक्टमा १८ प्रतिशत एसियनहरु रहेका छन् । यो डिस्ट्रिक्टमा न्युयोर्कको क्वीन्सको ज्याक्सन हाइट्स, कोरोना, एल्महस्र्ट, इस्ट एल्महस्र्ट, एस्टोरिया, उडासाइड लगायतका क्षेत्रका भागहरु पर्छन् । धेरैजसो इस्ट एल्महस्र्ट ठूलो भाग प्रतिनिधित्व गरेपनि जेसिका रामोस नेपाली समुदायका कार्यक्रमहरुमा पुग्ने गर्छिन् ।

जेसिका रामोस

न्युयोर्कमा बर्षा र बाढीका कारण १९ महिनाका बालकसहित तीनजना नेपालीहरुको मृत्यु भएको बार्षिकीमा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा गरिएको दीप प्रज्वलनमा पनि उनी गत महिना सहभागी भएकी थिइन् । त्यहाँ उनले आफ्ना चुनावी एजेण्डाहरुबारे मन्तव्य दिएकी थिइन् । साथै उनले न्युयोर्कमा रहेका अबैध बेसमेन्टहरुलाई बैध बनाउनुपर्ने र भाडामा बस्नेहरुलाई सोही अनुशार सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी थिइन् । न्युयोर्कमा हरिकेन आइदाका कारण गतबर्ष बेसमेन्टमा बस्दै आएका ११ जनाको मृत्यु भएको थियो, जसमा ३ जना एकैपरिवारका नेपाली थिए ।

त्यस्तै अमेरिकी संसदको प्रतिनिधिसभामा न्युयोर्कको ६ औं डिस्ट्रिक्टबाट सन् २०१३ देखि प्रतिनिधित्व गर्दै आएकी ग्रेस मिंग यसपटकपनि चुनावमा उठ्दैछिन् । उनको डिस्ट्रिक्टमा झण्डै ४० प्रतिशत एसियनहरु रहेका छन् ।

उनी पनि नेपाली समुदायमाझ परिचित उम्मेदबार हुन् भने बेलाबेलामा नेपाली समुदायका कार्यक्रममा देखा पर्दै आएकी छिन् । यस डिस्ट्रिक्टमा क्वीन्सका औबरन्डेल, बेसाइड, एल्महस्र्ट, फ्लशिंग, फरेस्ट हिल्स, ग्लेन्डेल, किउ गार्डन, मास्पेथ, मिडल भिलेज, मुरे हिल, र रेगो पार्क लगायतका क्षेत्र पर्छन् । अब यो डिस्ट्रिक्टमा ज्याक्सन हाइट्स र अस्टोरियाका भागहरु पनि समावेश गरिएको छ, जुन यसभन्दा अगाडि डिस्ट्रिक्ट १४ का भागहरु थिए ।

न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित नेपाली अमेरिकन म्युजिक फेस्टिभलमा स्टेभन रागा ।

त्यस्तै न्युयोर्क स्टेट एसेम्बलीमा डिस्ट्रिक्ट ३० बाट उम्मेदबार स्टेभन रागा पनि नेपाली समुदायमाझ केहीहदसम्म परिचित छन् । २५ प्रतिशत एसियनहरु बसोबास गर्ने यस डिस्ट्रिक्टमा उडसाइड, मास्पेथ, एस्टोरिया, मिडल भिलेज, एल्महस्र्ट, सन्नीसाइड लगायतका क्षेत्रहरु पर्छन् । उनी पनि न्युयोर्कमा बर्षा र बाढीका कारण १९ महिनाका बालकसहित तीनजना नेपालीहरुको मृत्यु भएको बार्षिकीमा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा गरिएको दीप प्रज्वलनमा गत महिना देखिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com