अमेरिकामा ८० भन्दा धेरै मिडिया प्रकाशक स्नेप्स मिडियाको क्वीन्स पावरलिष्टमा नवराज केसी


प्रकाशित मिति : कार्तिक ११, २०७९ शुक्रबार

अमेरिकाका दुई चर्चित अँग्रेजी दैनिक पत्रिकाहरु एएम न्युयोर्क मेट्रो र मेट्रो फिलाडेल्फिया सहित ८० भन्दा धेरै मिडियाको प्रकाशक कम्पनी स्नेप्स मिडियाले न्युयोर्कको क्वीन्स निवासी नेपाली अमेरिकन सामाजिक अभियन्ता तथा रियल्टर नवराज केसीलाई क्वीन्स पावरलिष्टमा राखेको छ । बिहिबार क्वीन्सको टेरेस अन द पार्कमा आयोजित कार्यक्रममा न्युयोर्क सिटीका मेयर एरिक आडम्स, न्युयोर्ककी महान्यायाधिवक्ता लेटिया जेम्स लगायतको उपस्थीतिमा यसको औपचारिक घोषणा गरिएको हो ।

स्नेप्स मिडियाले क्वीन्स पावरलिष्टमा न्युयोर्कको क्वीन्समा रहेका सबैभन्दा प्रभावशाली मूभर्स र शेकरको नाम राख्ने गर्छ, जसले नयाँ पदचिन्हको सुरुवात गर्न र अन्य मानिसलाई प्रभाव पार्न सक्छन् । नवराज केसी न्युयोर्क सिटी काउन्सिलको चुनावमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन हुन् भने न्युयोर्क सिटी मेयर एरिक आडम्सको एसियन एड्भाइजरी काउन्सिलका सदस्य समेत हुन् ।

केसी एक सफल उद्यमी, व्यावसायिक रियाल्टर र सामुदायिक कार्यकर्ताको रुपमा सकृय छन्। २०१९ देखि २०२० सम्म रोटरी क्लब अफ न्यूयोर्क, क्वीन्सका अध्यक्ष समेत रहेका उनी कलेज प्वाइन्ट सिभिक एण्ड ट्याक्स पेयर एसोसिएसनका अध्यक्षका रूपमा कार्यरत छन्। उनी न्युयोर्कका मेयर एरिक एडम्सले पदभार ग्रहण गर्नेबेला उनका लागि सिभिक एंगेजमेन्ट ट्रान्जिसन टोलीमा समेत थिए ।

स्नेप्स मिडियाले केसी लगायत ७४ व्यक्ति र सस्थालाई क्वीन्सका प्रभावशाली व्यक्तिको सुचीमा राखेको छ । जसमा न्युयोर्क सिटी काउन्सिल स्पीकर एड्रीन आडम्सदेखि न्युयोर्क राज्य संसदका ४ जना सिनेटरहरु, न्युयोर्क राज्यको एसेम्बलीका स्पीकर, ३ जना अमेरिकी संसदको प्रतिनिधिसभाका सांसदहरु लगायतका प्रभावशाली व्यक्तित्वहरु रहेका छन् । विभिन्न बैंक, कलेज र अस्पतालका प्रभावशाली व्यक्तित्वहरु पनि उक्त सुचीमा रहेका छन् ।

क्वीन्स पावरलिष्ट घोषणा गरेको स्नेप्स मिडियाले अमेरिकाभर २ वटा दैनिकपत्रिका, ३३ वटा अन्य पत्रिकाहरु, २८ वटा म्यागजिन र विशेष प्रकाशनहरु एवं २० वटा वेवसाइटहरु प्रकाशन गर्दै आएको छ । क्वीन्स कुरियर, टाइम्स लेजर ग्रुप, एल कोरियो र क्यारिबियन लाइफ जस्ता चर्चित मिडियाको प्रकाशक पनि स्नेप्स मिडिया हो ।

सन् १९८५ मा स्थापना गरिएको यो कम्पनीले क्वीन्स कुरियरबाट आफ्नो प्रकाशन आरम्भ गरेको थियो । सन् २०१९ मा न्युयोर्क टाइम्सले यो कम्पनीले ५० भन्दा बढी पत्रिका र म्यागजिन प्रकाशन गर्ने उल्लेख गरेको थियो भने कतिपय समाचारहरु न्युयोर्क टाइम्सले समेत ती मिडियाबाट लिने गरेको छ । स्नेप्स मिडियाले सन् २०१९ मा एएम न्युयोर्क मेट्रो किनेको थियो भने सन् २०२० बाट फिलाडेल्फियामा दैनिक पत्रिका प्रकाशन विस्तार गरेको थियो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com