मनास्लु हिमपहिरोमा परेका एक जनाको मृत्यु, १० को सकुशल उद्धार


प्रकाशित मिति : आश्विन ११, २०७९ मंगलबार

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडाँैको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो । हिमपहिरोमा परेका अन्य १० जनाको भने सकुशल उद्धार गरिएको प्रउ खनालले जानकारी दिनुभयो । सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको उहाँले बताउनुभयो ।

आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले हिमपहिरोमा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले जानकारी दिनुभयो । “सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ”, उहाँले भन्नुभयो, “उनीहरूको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।”

पहिरोमा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरू आधार शिविरमा नै बसेर काम गरिरहेको उहाँले बताउनुभयो । हिमपहिरोमा परेकाहको उद्धारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com