भीमफेदीमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज  दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा  परेर सात जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर मृत्यु भएकाको हाल पहिचान खुल्न सकेको छैन । उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेलाई उपचारका लागि हेटौँडा अस्पतालतर्फ ल्याइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमसहितको टोली पुगेको छ । उक्त घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com