यो साता नागरिकता दिवसका अवशरमा १९ हजार बढी आप्रवासीलाई अमेरिकी नागरिकता दिइदै


प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार

यो साता अमेरिकाको नागरिकता दिवस र संविधान दिवसको अवशरमा १९ हजार भन्दा धेरै आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिने भएको छ । जसमा नेपालीहरु समेत रहेको युएससीआईएसले जनाएको छ ।

सेप्टेम्बर १७ देखि २३ सम्म अमेरिकाका विभिन्न स्थानमा हुने २३५ समारोहमा उनीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिने भएको छ । अमेरिकी नागरिकताका लागि आवेदन दिएर स्वीकृत भइसकेकाहरुलाई उक्त समारोहमा सपथग्रहण गराइनेछ ।

यसै क्रममा शनिबार न्युयोर्कको एलिस आइल्याण्डमा नेपालीसहित ५७ देशका २ सय आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिदै छ । युएससीआईएसले विहान ११ बजे आयोजित सपथ समारोहमा उनीहरुलाई स्वागत गर्न लागेको हो ।

सेप्टेम्बर १७ मा अमेरिकामा संविधान दिवस र नागरिकता दिवस मनाइदैछ । सन् १७८७ सेप्टेम्बर १७ मा अमेरिकी संविधानमा हस्ताक्षर गरिएको थियो । तर अमेरिकामा संविधान दिवस भने सन् १९४० देखि मनाउन लागिएको हो ।

सन् १९५२ देखि अमेरिकामा नागरिकता दिवस मनाउन थालिएको थियो । पछि संविधान सप्ताहका रुपमा मनाउन थालिएको हो । युएससीआईएसले संविधान दिवस र नागरिकता दिवसका अवशरमा नागरिकता प्राप्त गरेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गर्न प्रोत्साहित गरेको छ ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि विभिन्न योग्यताहरु पूरा गर्नुपर्छ । सामान्यतया ग्रिनकार्ड प्राप्त गरेको ५ बर्षमा अमेरिकी नागरिकताका लागि योग्य हुने प्रावधान रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com