दरको संस्कृतिले लिँदैछ विकृतिको रूप


प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार

नेपाली बृहत् शब्दकोशले दर शब्दको अर्थ तीजका अघिल्ला रात खाने, दह्रिलो विशेष भोजन भनेको छ । शब्दकोशको यो अर्थको अनर्थ लाग्ने गरी अहिले राजधानीलगायत ठूला सहरमा तीजको महिनौँअघिदेखि दर खानेको लर्को लाग्छ । तीजमा व्रत बस्ने बर्तालुलाई आड होस् भन्ने उद्देश्यले दर खाने परम्पराको विकास भएको हो ।

वैदिक सनातन हिन्दू धर्मअनुसार भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाइन्छ । त्यसको अघिल्लो रात दर खाने संस्कृति सनातनदेखि नै चल्दै आएको छ । यो परम्परामा केही वर्षअघिदेखि भने विकृतिको सुरुआत भएको छ ।

संस्कृतिविद् डा गोविन्द टण्डन तीजका नाममा सुरु भएको यो विकृतिलाई रोक्नुपर्ने बताउँछन् । तीजको एक दिनअघि आमा, दिदी, बहिनी घरपरिवारमा बसेर आडिला चीजबीज खानुलाई दर भनिने उनी सुनाउँछन् । तडकभडकका रूपमा मनाउने यस्तो विकृतिले फजुल खर्च बढाएको छ ।

“अहिले हाम्रो संस्कृतिभन्दा भिन्नरूपमा तीज मनाउन थालिएको छ, यसले नहुनेलाई तनाव दिएको छ, नकारात्मक सोच बढाएको छ, गरिष्ठ कुरा मांस, मदिरा दरमा खाने होइन, सेल, पुरी, खीरलगायत शरीरलाई तागत दिने खानेकुरा दरका रूपमा खाने हो”, संस्कृतिविद् टण्डनले भने ।

विकृतिका रूपमा मौलाएको तीज भोजले होटल र पार्टीप्यालेस व्यवसायीलाई फाइदा भए पनि संस्कृतिलाई भने विकृत बनाएको छ । होटल र पार्टीप्यालेसमा साथीभाइसँग दर खाने परम्परा नै गलत रहेको टण्डनको भनाइ छ । टाढा टाढाबाट माइत आएका चेलीबेटीले घर परिवारमा बसेर खाने मौलिक परम्परालाई अहिले विकृत बनाइएको छ ।

तीजको दुई महिनाअघिदेखि दर खाएर देखाउँदा विपन्न वर्गका मानिसलाई पर्व मनाउन मुस्किल हुने गरेको छ । समाजमा दर भनेको एक महिनाअघिदेखि नै खानुपर्ने रहेछ भन्ने सन्देश गएको छ । सहरमा एक महिनाअघिदेखि धेरै पार्टीप्यालेस दर खानकै लागि रिजर्भ हुने गरेका छन् ।

यसरी रिजर्भ भएका पार्टीप्यालेसमा दरका नाममा मांस, मदिराको सेवन हुन्छ । व्रत बस्ने अघिल्लो दिन खाने विशेष परिकारलाई दर भन्ने शब्दकोशको अर्थअनुसार अहिले अधिकांशको व्यवहारमा चलेको दर खाने प्रक्रिया मिल्दैन । व्रतको अघिल्लो दिन घाम अस्ताएपछि देखि नै बर्तालुले शुद्ध खानेकुरामात्र खानुपर्ने शास्त्रीय नियम रहेको बताउँछन् धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई । दरका नाममा एक महिनाअघि नै भएपनि मांस, मदिराको सेवन संस्कृतिका नाममा बढेको विकृतिको स्वरूप भएको उनले सुनाए ।

“तीजमा निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन शुद्ध, विशेषगरी दूधबाट बनेका सात्विक परिकार खाने शास्त्रीय नियम हो, व्रतको अघिल्लो दिन एकछाकी भएकाले पनि जे मन लाग्यो त्यही खान हुँदैन, दर तीजको अघिल्लो रात ११ बजेसम्ममात्र खान सकिन्छ, त्यसपछि राक्षसी समय सुरु हुने भएकाले ११ बजेपछि दर खान निषेध गरिएको छ”, धर्मशास्त्रविद् भट्टराईले भने ।

उपभोगवादी संस्कृतिले अहिले तीज, व्रत जस्ता शब्द देखाउने कुरामात्र हुन थालेको छ । मर्म विनाका पर्व मनाउन थालिएका छन् । हुनेखानेले रवाफ देखाउने माध्यम चाडपर्व बन्न थालेको छ ।

सहरमा बस्ने अधिकांशलाई महँगीका कारण हातमुख जोर्न, बालबालिका पढाउन, औषधोपचार गर्नसमेत मुस्किल हुन थालेकामा हुनेखानेले गर्ने खर्चसँगै प्रतिस्पर्धा गर्नुपर्ने चुनौती थपिएको छ । यस्तो विकृतिले भ्रष्टाचारलाई पनि प्रोत्साहन गर्ने बताउँछन् समाजशास्त्री कीर्तिकुमार दुमी राई । परिवारको चाहना पूरा गर्न गलत प्रक्रियाबाट स्रोत जुटाउने बाध्यता संस्कृतिका नाममा मौलाएको विकृतिले बढाउन थालेको छ ।

अहिले अन्य संस्थाका अतिरिक्त सरकारी कार्यालयमा समेत तीजको दरका नाममा विकृति भित्रिन थालेको छ । तीजकै नाममा लाखौँ खर्च हुन थालेको छ । आर्थिक मन्दीको राप अलापिरहँदा सरकारी संयन्त्रले पर्वका नाममा मौलाएको विकृतिका पक्षमा हुने खर्च रोक्न सकेका छैनन् ।

विद्यालयमा समेत तीजका कार्यक्रमका नाममा खानपान एवं भोज हुन थालेको छ । अभिभावकसँग पैसा लिएर शिक्षक, कर्मचारी र कुनै विद्यालयमा त अभिभावकलाई पनि दर खुवाउने कार्यक्रम हुन थालेको हो । समाजलाई संस्थागत भ्रष्टाचारको आहालमा डुबाउन यस्ता गतिविधिले प्रेरित गर्ने समाजशास्त्री राईको विश्लेषण छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com