जर्सी सिटी काउन्सिल प्रेसिडेण्टको उपस्थीतिमा ‘महिला सशक्तिकरण’का लागि तीज


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोयस वाटरम्यानको उपस्थीतिमा महिला सशक्तिकरणका लागि तीज कार्यक्रम गरिएको छ । हडसन स्पीक्स, बोलो बहन, एनआरएनए र कारणका लागि महिलाको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा कलाकार बसुन्धरा भुसाललाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा आर्थिक साक्षरता कार्यक्रमबाट ग्रयाजुएट भएका २२ जना नेपाली महिलाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । यो कार्यक्रम महिला सशक्तिकरणकै एउटा आयाम रहेको हडसन स्पीक्सकी बरिष्ठ कार्यक्रम निर्देशक तथा अधिकारकर्मी डाक्टर विष्णुमाया परियारले बताइन् । कार्यक्रममा आर्थिक साक्षरता कार्यक्रमकी प्रशिक्षक क्याथरिन टेन्सेको पनि उपस्थीति रहेको थियो ।

आर्थिक साक्षरता कार्यक्रमबाट ग्रयाजुएट हुनेहरुलाई हडसन स्पीक्सका तर्फबाट अमेरिकी अध्यागमन लगायतका टिप्सहरु समेटिएको किशोर पन्थीको पुस्तक जिरो माइल पनि उपहारस्वरुप प्रदान गरिएको थियो । हडसन स्पीक्सले ५० प्रति पुस्तक जिरो माइल खरिद गरेर आफ्ना सेवाग्राहीलाई प्रदान गरेको हो ।

हडसन स्पीकसले यौन हिंसा विरुद्ध चौबिसै घण्टा निशुल्क र गोप्य सेवाहरू प्रदान गर्दै आएको छ । हडसन स्पीकसले यौन हिंसा विरुद्ध हटलाइन सेवा, अस्पताल अदालत र कानून कार्यान्वयन निकायसँग समन्वय, पीडित र अन्यका लागि व्यक्तिगत वा सामुहिक परामर्श समेत प्रदान गर्दै आएको छ ।

यौन दुर्व्यवहार सम्बन्धी मुद्दाहरूमा जागरूकता र जोखिम न्यूनीकरणका लागि समेत सामुदायिक शिक्षा समेत प्रदान गर्दै आएको हडसन स्पीकस अन्तरगत बोलो बहन मार्फत दक्षिण एसियाली महिला पुरुष र अन्य घरेलु हिंशाबाट पीडितहरुलाई सहयोग प्रदान गरिदै आएको छ । सुरुमा हिन्दी, अँग्रेजी र बंगाली भाषामा सेवा सुरु गरिएकोमा पछि नेपाली भाषा समेत थपिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com