टेक्सासबाट न्युयोर्क सिटी आइपुगे शरण खोज्नेहरुले भरिएका तीनवटा बस


प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार

buildings near body of water landscape photography

बुधवार बिहान शरण खोज्नेहरुले भरिएका तीनवटा बसहरु टेक्सासबाट न्युयोर्क सिटीको पोर्ट अथोरिटी बस टर्मिनलमा आइपुगेका छन् । शरणार्थीको विषयमा राष्ट्रपति जो बाइडेन, न्युयोर्कका मेयर एरिक आडम्स र टेक्सासका गभर्नर ग्रेग एबोट बीचको राष्ट्रिय झगडाका बीच अध्यागमन र सीमा समस्याहरूमा ध्यानाकर्षण गर्ने प्रयास स्वरुप टेक्सासले शरण खोज्नेहरुलाई बसमा राखेर न्युयोर्क पठाएको हो ।

हरेक बसमा ८० देखि देखि १ सयजनासम्म आप्रवासीहरू रहेका थिए । उनीहरुमध्ये अधिकांश कोलम्बिया र भेनेजुएलाका रहेको बताइएको छ । प्रायजसो २० देखि ३० बर्षका युवाहरु रहेको र समूहमा बच्चाहरू पनि रहेको जनाइएको छ ।

अमेरिकामा शरण खोज्दै न्युयोर्क सिटीभित्र बस्न आउनेहरुलाई आवास र सेवा दिनका लागि न्युयोर्कका मेयर एरिक आडम्सले गतसाता आपतकालिन खरिद घोषणा गरेका थिए । आपतकालीन खरीद घोषणाले शहरलाई आश्रय र सेवा प्रदायकहरूसँग द्रुत रूपमा सम्झौता गर्न अनुमति दिन्छ ।

आपतकालीन लागतहरूको लागि सहायता खोज्न संघीय सरकारसँग छलफल भइरहेको बेला मेयरले यस्तो घोषणा गरेका थिए । न्युयोर्क आप्रवासीहरूको सहर रहेको र सधैं नयाँ आगन्तुकहरुलाई खुला तरिकाले स्वागत गर्ने उनले बताए । पछिल्ला दुई महिनामा न्युयोर्क सिटीको आश्रय प्रणालीमा शरण खोज्नेहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको मेयर आडम्सको भनाई छ ।

घरबारविहीनताको अनुभव गरिरहेका जो कोहीलाई गुणस्तरीय आश्रय प्रदान गर्न, न्युयोर्क कानुनी र नैतिक जनादेश पूरा गर्न र शरण खोज्नेहरूलाई उपयुक्त सेवाहरू उपलब्ध गराउने सुनिश्चित गर्न, शरण खोज्दै आएका व्यक्ति र परिवारहरूको सेवा गर्न थप आश्रय र सेवाहरू द्रुत रूपमा खरीद गर्नको लागि आपतकालीन खरीद घोषणा जारी गरेको मेयरले बताएका छन् । शरण खोज्दै आएका व्यक्तिहरुलाई कानुनी सहयोग, स्वास्थ्य हेरचाह र शिक्षालगायत सेवाहरूको दायरामा पहुँच कायम सुनिश्चित गर्नका लागि सहरका एजेन्सीहरू र गैर नाफामुलक संस्थाहरुसँग काम गरिरहेको उनले बताए ।

आफूहरु लामो समय पर्खन नसक्ने र यो घोषणाले शहरलाई सकेसम्म चाँडो आवश्यक पर्ने अतिरिक्त स्रोतहरू किन्न अनुमति दिने मेयर आडम्सले प्रष्ट पारेका छन् । आवश्यक पर्ने सबैलाई आश्रय र सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले न्युयोर्क सिटी एक्लैले यो काम गर्न नसक्ने भएकाले थप वित्तीय स्रोतहरू तत्काल प्राप्त गर्न संघीय र राज्य सरकारसँग सहकार्य जारी राख्ने बताएका छन् ।

लगभग ४ हजार शरण खोज्नेहरू मेको अन्त्यदेखि न्युयोर्क शहरको आश्रय प्रणालीमा प्रवेश गरेका छन् । न्युयोर्क शहरमा घरविहीनहरुको संख्यामा १० प्रतिशत वृद्धि भएको छ । त्यसका अतिरिक्त सहरको आश्रय प्रणालीले हाल प्रति दिन कुनै न कुनै प्रकारको आवास खोज्ने औषतमा १ सयजना भन्दा बढी अतिरिक्त शरणार्थीहरू प्राप्त गरिरहेको छ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com