न्युयोर्क सिटीका मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकारमा नवराज केसी


प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार

न्युयोर्क सिटीका मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्डमा नेपाली अमेरिकन नवराज केसी नियुक्त भएका छन् । बुधबारको छलफलपछि केसीलाई सल्लाहकारमा नियुक्त गरिएको जनाइएको छ ।

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले पहिलोपटक एसियन मामिला सल्लाहकार बोर्डको स्थापना गरेका हुन् । यो समितिले एसियन समुदायका विषय र समस्याहरुबारे मेयर एरिक आडम्सलाई जानकारी गराउनेछ ।

यो सल्लाहकार बोर्ड मेयर र एसियन समुदायबीच पुलको काम गर्ने नवनियुक्त सल्लाहकार केसीले जानकारी दिए । उनले आफ्ना समुदायका विषयहरु मेयर समक्ष लैजान अब सहज हुने र आफू न्युयोर्कमा रहेका नेपाली समुदायका विषय मेयर अफिस समक्ष लैजान सधै प्रतिबद्ध रहने बताए ।

प्रत्येक महिनाको एकपटक सल्लाहकार बोर्डको बैठक हुनेछ । त्यसमा मेयर एरिक आडम्स पनि उपस्थीत हुनेछन् । यो सल्लाहकार बोर्डमा विभिन्न समुदायबाट २१ जना रहेका छन् ।

हाल कलेज प्वाइन्ट सिभिक ट्याक्सपेयर एसोसियसनका अध्यक्ष रहेका उनी मेयर एरिक आडम्सले कार्यभार सम्हाल्नेबेलामा ट्रान्जिसन टिममा समेत नियुक्त भएका थिए ।

नवराज केसी गत चुनावमा न्युयोर्क सिटी काउन्सिल डिस्ट्रिक्ट १९ बाट डेमोक्रेटिक प्राइमरीका उम्मेदबार रहेका थिए । उनी न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली मूलका अमेरिकन थिए ।

उनी नेपालमा जन्मे हुर्केर अल्पसंख्यक आप्रवासी समुदायका रुपमा न्युयोर्कमा रहदै आएका छन् । झण्डै दुईदशकदेखि सामाजिक कार्यमा सकृय उनले कोरोना महामारीका बेलामा आफ्नो डिस्ट्रिक्ट १९ मामात्र होइन, न्युयोर्क र आसपासका राज्यको नेपाली समुदायमा समेत गरेको योगदान उल्लेखनीय रहेको छ । विगतमा रोटरी क्लब अफ न्युयोर्कका अध्यक्ष समेत रहेका उनी अहिले रोटरी डिस्ट्रिक्ट ७२५५ का सहायक गभर्नर समेत भए ।

कँग्रेसवुमन ग्रेस मिङले उनले गरेको सामाजिक योगदानको सम्मानमा डिसेम्बर २२ लाई नवराज केसी डे घोषणा गरेकी थिइन् भने बु्रकलिन बोरो प्रेसिडेण्टबाट समेत केसीले कोभिड १९ हिरो अवार्ड पाएका थिए । उनले न्युयोर्कमा रहेको नेपाली समुदायलाई अमेरिकन मुलधारको राजनीतिक नेतृत्वसँग जोड्न सेतुको काम गर्दै आएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com