पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनौट


प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तक छनौट गरिएको छ । तीन चरणमा कृतिहरू सिफारिस गर्न गठन गरिएको खुल्ला स्वतन्त्र निर्णायक समितिले उत्कृष्ट ५ को घोषणा गरेको हो ।

छनौट भएका ५ पुस्तकमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दीपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको सङ्ग्राहलय’ रहेका छन् । २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट छनौट गरिएको हो । कृतिहरु छनोटका लागि गठन गरिएको निर्णायक समितिमा राम लोहनीको संयोजकत्वमा स्रष्टाहरु नयनराज पाण्डे, कुमारी लामा छन् ।

निर्धारित मापदण्डबमोजिम मूल्याङ्कन गरी समितिले सिफारिस गरेको पन्ध्रवटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक गरिएको थियो ।

जसमा नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’, राजवको ‘काफ्काको काम सकियो’, कविता राईको ‘गूरु’, लोकराज भट्टको ‘छाइल’, दिलिप बान्तवाको ‘ताल्चा’, अलकाआत्रेयको ‘निनादवल्लरी’, राजेन्द्रमान डंगालेको ‘पैतालामा हिँउ, आँखामा हिमाल’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, बसन्त बस्नेतको ‘महाभरा’, दीपक पराजुलीको ‘मिथ्या’, केवल बिनाबीको ‘यादहरुको संग्रहालय’ र गिरीश गिरीको ‘सत्यमोहन’छनोटमा परेका थिए ।

प्रतिष्ठानका अध्यक्ष लेखक तथा व्यवसायी जीवा लामिछानेले आफ्ना मातापिताको सम्मानमा यो पुरस्कार स्थापना गरेका हुन् ।

उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूचीको प्रयोजनको लागि पाँचवटा कृतिहरूको नामावली उपलब्ध गराएको हो ।

तेस्रो तथा अन्तिम चरणमा यिनै पाँच कृतिहरूमध्येबाट पुरस्कृत कृति चयन गरिने छ। नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरेका पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ ।

प्रतिष्ठानले २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएकोमा २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।

पद्मश्री पुरस्कार पहिलोपटक पाउने स्रष्टा गणेश रसिक हुन्। उनलाई २०६३ सालमा ‘दसगजामा उभिएर’ भन्ने कृतिका लागि प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष लेखक तथा व्यवसायी जीवा लामिछाने हुन् । उनले आफ्ना मातापिताको सम्मानमा यो पुरस्कार स्थापना गरेका हुन् ।

पुरस्कारको राशि सुरुमा एक लाख रुपैयाँ थियो भने दुई लाख रुपैयाँ हुँदै ०७६ सालबाट तीन लाख रुपैयाँ पुर्‍याइएको छ । पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ ।

२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान पनि अर्पण गर्दै आएको छ । यसको राशी पनि तीन लाख रुपैयाँ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com