न्युरोलोजिकल डिसअर्डरदेखि अजिटम पीडितसम्मको फरक तर कठिन भूमिकामा पुष्प


प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार

सानैदेखि मनभित्र गुम्सिएर बसेको हिरो बन्ने रहर ब्याचलर पढ्दै गर्दा एकाएक जाग्यो । त्यसपछि पुष्प खड्काले झरना कल्चरल सेन्टरमा नृत्यको क्लास लिन थाले । केही समयमै उनी अभिनयको क्लासका लागि एक्टर स्टुडियोमा भर्ना भए ।

सानोमा कराँते खेल्ने र एक्सन फिल्म हेर्ने बानी परेकाले पुष्पको रहर एक्सन हिरो बनेर पर्दामा गुण्डाहरुलाई ढाल्ने थियो । तर, उनले खेलेको पहिलो चलचित्र ‘अझै पनि’ एउटा रोमान्टिक ड्रामा थियो । त्यसमाथि उनी हिरो नभएर हिरोको साइडमा थिए ।

म्युजिक भिडियोमा व्यस्त पुष्पलाई आलोक नेम्वाङले यस चलचित्रबाट उनलाई फिल्ममा डेब्यु गराएको भएपनि ‘दर्पणछाँया–२’ प्रदर्शनमा आएपछि मात्रै उनी धेरैको नजरमा परे ।

‘स्वर्गीय आलोक दाईले नै मलाई म्युजिक भिडियोमा ब्रेक दिनुभएको थियो । त्यहीकारण उहाँले भनेपछि टार्न सकिँन र साइड रोलमा भएपनि गरेँ, खासमा मलाई त्यतिबेलासम्म साइड रोलमा फिल्म खेल्न मन थिएन ।’ दर्पणछाँया–२ मा तुलसी घिमिरेले पुष्पलाई मुख्य अभिनेता बनाएपनि यो फिल्म असफल भयो, यद्यपी पुष्पको अभिनयमाथि खासै प्रश्न उठेन ।

यतिबेलासम्म म्युजिक भिडियोमा पुष्प निकै चर्चित भइसकेका थिए । तर फिल्ममा उनलाई स्थापित गर्ने काम ‘मंगलम्’ ले ग¥यो । यो फिल्मले उनलाई कलाकार हुनुको महत्वमात्रै बुझाएन, ठूलो चर्चा र अवार्ड पनि दिलायो । २०७४ सालको राष्ट्रिय अवार्ड पुष्पले यही फिल्मबाट पाए ।

‘न्युरो डिसअर्डर भएको व्यक्तिको भूमिकाका लागि पहिले त्यस्तो अवस्थाबाट गुज्रिएका व्यक्तिहरुले कस्ता समस्या भोग्छन् भनेर बुझ्नुपर्ने थियो । मैले नवल दाईसँग धेरैपटक पशुपति पुगेर रिहर्सल गरेँ । दिमागमात्रै चल्ने, हात खुट्टा नचल्ने अवस्थामा पुगेर व्हिल चेयरको साहारा बाँचिरहेको एक मानिसको भूमिका मैले गरेको थिएँ । पहिले अपांगता भएको अवस्थाको सुटिङ सकेर त्यसपछि मात्रै सामान्य अवस्थाको सुटिंग गर्ने कार्यक्रम थियो । झन्डै १२ दिनसम्म बिहान सुटिंगमा जाने र त्यहाँ व्हिल चेयरमै बसेर अभिनय गर्ने गरेँ,’ उनले भने, ‘‘राम्रो अभिनयका लागि हिरोइजम वा एक्सनमात्रै नभएर पात्रबारेको गहिरो अध्ययन आवश्यक पर्छ भन्ने महसुस मलाई यस फिल्मले गरायो । जब व्हिल चेयरको सुटिङ सकाएर रोमान्टिक गीतको सुटिङ सुरु भयो । त्यतिबेला मलाई नयाँ दुनियाँमा पुगेजस्तो भयो । अर्थात्, व्हिल चेयरमा बस्दा बस्दा म त्यही पात्रमा डुबिसकेको रहेछु ।’

त्यो पात्रप्रति यति धेरै लगाव किन त ? यसको जवाफमा पुष्प भन्छन्, ‘ म पो अभिनयमा छु, साँच्चै यही परिस्थितीबाट गुज्रिएका धेरै मानिसहरु यो दुनियाँमा छन्, उनीहरुको दैनिकी कति गाह्रो रहेछ । व्हिलचेयरमा बस्दाबस्दै मलाई त्यस्तो सोच आउँथ्यों र भावूक हुन्थ्यें ।’

यस दौरान जीवनलाई नजिकबाट बुझेको उनले बताए । ‘हामी सबल छौं र धेरै गर्नसक्छौं, यही समय विभिन्न मानसिक र शारिरीक समस्या भोगेर पनि मानिसहरु बाँचिरहेका छन् । र, त्यस्ता मानिसहरुलाई हामीले सम्मान गर्नुपर्छ र बाँच्नका लागि सहज वातावरण बनाइदिने प्रयास गर्नुपर्छ, अनिमात्र हाम्रो जीवन सार्थक हुनसक्छ भन्ने लाग्यो ।’

फेरि फरक भूमिका

पुष्पको नयाँ फिल्म ‘कृष्णलिला’ ३ भदौबाट प्रदर्शनमा आउँदैछ । यस फिल्ममा उनी अटिजम पिडित युवाको भूमिकामा छन्, जसले एक युवतीलाई पाउन मरिहत्ते गर्छ । विज्ञहरुकाअनुसार अटिजम मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट निम्तने समस्या हो । बालबालिकाको मस्तिष्क विकासमा आउने यस समस्याको असर मानिस ठूलो हुँदासम्म पनि देखिन्छ ।

अटिजम भएका बालबालिकाहरुमा बोली नफुट्ने, एक्लै खेल्न रमाउने, आँखामा आँखा जुधाएर हेर्न नसक्ने, अस्वभाविक हाँस्ने, कुनै आवाज तथा स्वाद नमिठो लागेमा दुखी हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता धेरै लक्षण उनीहरु वयस्क भइसक्दा पनि कायमै रहन्छन् । नेपालमा धेरै मानिसहरुमा यस्तो समस्या देखिने अनुमान गरिएको भएपनि परीक्षणको कमीका कारण धेरैमा समस्या पहिचान नै हुँदैन । समस्या पहिचान भएकाहरुका हकमा पनि राज्य र समाजले गर्ने व्यवहार राम्रो छैन ।

‘यो रोल निकै चुनौतीपूर्ण थियो । मैले चुनौती स्विकारेर नै यसका लागि तयार भएको हुँ,’ उनले भने, ‘फिल्मको अफर आउनासाथ मेरो दिमागमा केही मानिसहरु घुमे । एकपटक एउटा भाईलाई म्युजिक भिडियोको सुटिङका दौरान भेटेको थिएँ । ती भाई बिस्तारै बोल्थें, अस्वभाविक हाँसो हाँस्थें, अर्थात् अटिजमका लक्षण उनीमा देखेको थिँए ।’

तर, ती भाईलाई दोस्रोपटक भेट्न पुष्पलाई सहज भएन । पुष्पले बाबु–आमाको फोन नम्बर पत्ता लगाएर फोन गरेका थिए, उनीहरु आफ्ना छोरालाई एक मिनेटपनि पुष्पसँग बस्न दिनका लागि तयार भएनन् । ‘उहाँहरुले एकछिन पनि बाहिर निस्कन दिदैंनौं भन्नुभयो । त्यसपछि यो समस्या मैले सोचेभन्दा पनि संवेदनशिल रहेछ भन्ने महसुस भयो ।’

तर पुष्पले एकदिन ती भाईलाई आफैं सिधैं सम्पर्क गरे । उनीसँग आउन भाई तयार भए । ‘त्यसपछि मैले तपाईको छोरा मसँग भेट्न तयार छ । म गेटबाट रिसिभ गरेर दुई घण्टा बाहिर रेस्टुरेन्टमा लिएर जान्छु र गेटमै ल्याएर छाडिदिन्छु भनें । बल्ल उहाँहरु मान्नुभयो ।’

पुष्पले ती भाईको हाउभाउलाई नजिकबाट नियाले । केही भिडियोहरु पनि खिचे, जो सुटिङका क्रममा अध्ययन गर्न काम आयो । ‘क्यारेक्टरमा आफ्नोपन भेटियो भने केही भिजअुलहरु आफैं दिमागमा बस्ने रहेछ,’ उनले भने,‘भाईसँग भेटेपछि मेरो दिमागमा पहिलेदेखि देखेका अन्य चार–पाँचजना मानिस आए । मेरै एकजना अंकलको हाउभाउ पनि यस्तै छ, उहाँलाई पनि संझिए ।’

पुष्पले अभिनयका लागि आशान्त शर्मासँग १५ दिन विशेष प्रशिक्षण पनि लिए । त्यस्तो फिल्ममा बच्चाजस्तो हाउभाउ देखाउनुपर्ने भएकाले उनले लामो समय आफ्नी ४ वर्षीया भान्जीसँग व्यथित गरेँ । ‘ बच्चाजस्तो भोकल ल्याउन गाह्रो थियो । त्यसका लागि मैले घर हुँदा धेरैभन्दा धेरै समय भान्जीसँग बिताएँ । बच्चाहरु चन्चले हुन्छन्, हात खुट्टा दिमाग चाँडो चल्ने हुन्छ,’ ती गतिविधि पनि नियालेँ ।

यसबीच अटिजमलाई लिएर पुष्पका दिमागमा धेरै कुरा खेले । ‘हाम्रो समाजमा यस्तो समस्या भएका पात्रलाई हेप्ने गरिन्छ, विश्वास गरिन्न । कतिपयले उडाउने समेत गर्छन्,’ उनले भने,‘ यस्ता पात्रलाई माया गर्नुपर्छ, उनीहरुलाई उनीहरुकै शैलीले काम गर्न दिनुपर्छ । उनीहरुकै संसारमा सम्मानका साथ बाँच्न दिनुपर्छ ।

जसरी दृष्टीविहिनलाई हामी अलग्गै कक्षामा राखेर पढाउँछौं । त्यसैगरी उनीहरुलाई पनि हामीले अलग वातावरण तयार गरेर, उनीहरुलाई सहज हुनेगरी बाँच्न दिनुपर्छ ।’

सुटिङका कतिपय सिनमा आफू भक्कानिएर रोएको पुष्प संझन्छन् । उनी भन्छन्, ‘मैले यस अवधिमा त्यो पात्रलाई ५० प्रतिशत बुझ्न सकेँ जस्तो लाग्छ । मेरो अभिनय हेरेर दर्शकले अटिजमबारे २० प्रतिशतमात्रै पनि बुझ्नुभयो भने पनि म सफल भएँ भनेर सोच्नेछु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com