परवानीपुर, दुम्कौली, छरछरे र पोखरामा अत्यधिक वर्षा


प्रकाशित मिति : श्रावण ११, २०७९ बुधबार

हाल काठमाडौं उपत्यकासहित देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रूपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भइरहेको छ।वर्षा र बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

विभागको बाढी सूचना केन्द्रका अनुसार बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाका धेरै स्थानमा पछिल्लो ५ घन्टादेखि भारी वर्षा भइरहेको छ।सूचना केन्द्रले बिहिबार बिहान साढे ५ बजे जारी गरेको एसएमएस अलर्ट अनुसार ती क्षेत्रमा थप वर्षा हुनसक्ने भन्दै पसाहा खोला, दुधौरा खोला लगायतका अन्य साना खोलामा आकस्मिक बाढी आउने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।‍ यस्तै पर्साको ठोरी, मकवानपुरको हेटौडा, चितवनको शक्तिखोर, गोविन्दबस्ती (माडी क्षेत्र) लगायत नवलपरासी, रूपन्देही, कास्की र आसपासका केही स्थानमा वर्षा भइरहेको र थप वर्षा हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

यसैगरी पूर्वीनवलपरासी पूर्वको दुम्कौली, चितवनको माडी क्षेत्रको छर्छरे, पोखराको जुम्लेटी लगायत क्षेत्रमा ठूलो पानी परिरहेकाले सतर्क रहन आग्रह गरेको छ।जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। वर्षा, बाढी र गेग्रान बहानवले दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com