मेरा मित्र उपेन्द्र यादवमा के को शंका हो, ज्यान गए भन्नु हुन्न : डा. बाबुराम भट्टराई


प्रकाशित मिति : असार २८, २०७९ मंगलबार

फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षको विस्तारित बैठकमा  काठमाण्डौमा सुरु भएको छ । पार्टीको संघीय परिषद अध्यक्ष रहेका भट्टराईले पार्टी विभाजनको गृहकार्यस्वरुप भेला गरेको बुझिएको छ । यो भेलालाई संघीय परिषदको विस्तारित बैठक भनिएको छ । विस्तारित बैठकमालाई सम्बोधन गर्दै भट्टराईले आफ्नो पक्षको बैठक वैधानिक भएको जिकिर गरेका छन् ।

विधानअनुसार अध्यक्ष उपेन्द्र यादवले बिरगंजमा बोलाएको बैठक अवैधानिक भएको भट्टराईको जिकिर छ । उनले जसपालाई हिमाल, पहाड र तराईको साझा पार्टी बनाउने प्रयास गरे पनि अर्को पक्षले नदिएको आरोप लगाए । उपेन्द्र यादवले पार्टीलाई राष्ट्रिय चरित्रको पार्टी बनाउन नदिएको भट्टराईको आरोप छ ।

भट्टराईले आज उपत्याकामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै भने,“राष्ट्रिय चरित्रको पार्टी बन्छ भनेर प्रयत्न गरेँ । तर मेरा मित्र उपेन्द्र यादव, उहाँमा भय, शंका के हो, ज्यान गए भन्नु भएन, आजसम्म मान्नुभा छैन । तैपनि हामीले मान्दियौँ, ल भैगयो भनेर मैले मान्दिएँ । साथीहरुले मान्नुभयो । म त गर्नुपर्छ भनिराखेको थिएँ । त्यसको चरम दुरुपयोग गरेर पार्टीको कार्यकारी समिति, केन्द्रीय समिति एकातिर छ । पछि साथीहरु मुख्यालय बनाम, हेडक्वार्टर बनाम तीन जनाको भनेर स्थानीय चुनाबअघि बनाइयो । अहिलेसम्म एउटा पनि बैठक भएन । कार्यकारी अध्यक्ष भएसकेपछि बैठक बोलाउने त उहाँले हो ।”

यादवले पार्टीलाई विभाजनतर्फ लगेर संकट निम्त्याएको भट्टराईको आरोप छ । फरक प्रसंगमा उनले पूर्ण समानुपातिक सांसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताएका छन् । संघ र प्रदेशमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्नेमा भट्टराईले जोड दिएका हुन् । अहिलेको संविधानलाई आफूले आधा गिलास भरि र आधा गिलास खाली भएको भनेर संविधान जारी भएकै दिन दिएको प्रतिक्रिया स्मरण गर्दै उनले संशोधनको खाँचो औँल्याए । इतिहासमै पहिलोपटक जनताको प्रतिनिधिले संविधान बनाएकाले आधा भरिएको तर संघीयता अपूर्ण भएकाले आधा खाली भएको भट्टराईको टिप्पणी छ ।

“आधा गिलास भरी छ आधा खाली छ । भरी यसअर्थमा छ, नेपाली जनताले आफ्ना चुनिएका प्रतिनिधिमार्फत पहिलो चोटी बनाए । यो भन्दा अघि बनाउका संविधान राजाप्रदत्त संविधान थियो । यो मात्र एउटा पहिलो संविधान थियो, राम्रो नराम्रो जे भए पनि नेपाली जनताले बनाएका हुन् । त्यसैले यो आधा गिलास भरिएकै हो । तर आधा खाली किन थियो भने यो देशका विभिन्न जाती भाषी, क्षेत्रीय समुदाय थिए, विभिन्न राष्ट्रियताहरु थिए । नेपाललाई संविधानले नै एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृति विविधतायुक्त राज्य भनेर परिभाषा गरिएको छ । ति जाती र भाषाहरुको पहिचान र अधिकारसहितको संघिय राज्य प्राप्त भएको थिएन । संघीयता त थियो, तर पूर्ण रुपमा थिएन ।”

बैठकमा भट्टाराईले राजनीतिक प्रतिवेदन पनि पेश गरेका छन् । प्रतिवेदनमा भट्टराईले अबको बाटो बारे दुई विकल्प अघि सारेका छन् । जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने भन्दै उनले दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको उल्लेख गरेका छन् । उनले नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने कि विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने भन्ने निर्णय गर्नुपर्ने बेला आएको बताएका छन् ।

भट्टराईले बोलाएको बैठकमा २३० जना केन्द्रीय सदस्य सहभागी भएको दाबी गरिएको छ । जसपाको कूल केन्द्रीय सदस्यको संख्या ४९९ रहेको छ । तिमध्ये भट्टराई पक्षमा २ सय ३० जना सहभागि हुँदा ४० प्रतिशतभन्दा धेरै हुन्छ । जुन जसपाको विभाजनका लागि कानूनबमोजिम पुग्ने संख्या हो । संसदीय दलमा पनि आफूहरुको ४० प्रतिशत पुग्ने दाबी बाबुराम निकट नेताहरुको छ । आजै अध्यक्ष उपेन्द्र यादव पक्षले पनि बीरगंजमा भेला गरिरहेको छ ।-एनएनबी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com