आज विधवा दिवस, सिएनएनमा सन्तुकुमारी महर्जन
प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार
संयुक्त राष्ट्रसंघले २३ जुनलाई विधवा दिवशको रुपमा मनाउदै आएको छ । र राष्ट्रसंघले उनीहरुलाई अदृश्य महिलाको समेत संज्ञा दिदै आएको छ । विश्वका कैयन देशमा विधवालाई लाञ्छना लगाउने गरिन्छ । अमेरिकादेखि केन्याहुँदै नेपालसम्मका त्यस्ता विधवा महिलाहरु भावनात्मक र आर्थिक लगायतका सहयोगबाट बञ्चित हुँदै आएका छन् । आज विधवा दिवशका अवशरमा विश्व चर्चित संचारमाध्यम सिएनएनले विश्वका ७ जना महिलाहरुको कथा प्रस्तुत गरेको छ, जसमा नेपालकी सन्तुकुमारी महर्जनको कथा पनि समावेश छ ।
जब सन्तुकुमारी ३२ बर्षकी थिइन्, उनका श्रीमान् मृगौलासम्बन्धी रोगबाट पीडित भए । उपचारका लागि सन्तुकुमारीले खेतबारी बेच्नुपरेको थियो । जब उनका श्रीमान् बिते तब सन्तुकुमारीले असाध्यै अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्यो । उनका बच्चाहरु सानासाना भएकाले हरेक दिन जीवनयापन गर्न नै निकै मुस्किल थियो । सन्तुकुमारीको १९ बर्षको उमेरमा विवाह भएको थियो । श्रीमान् वितेपछि उनी शोकमा थिइन् तर उनले आफ्नो र बच्चाहरुको जीवनयापनका लागि कमाउनुपर्ने थियो । बच्चाहरुलाई कपडा र खानाका लागि उनले अरुको खेतबारीमा काम गर्नुपरेको थियो ।
विधवाका रुपमा सन्तुकुमारीले धेरै विभेदको पनि सामना गर्नुपरेको थियो । उनी कसैसँग कुरा गर्दा सबैले हाँस्ने र ताली बजाउने गर्थे । आफ्नै भाईबुहारीबाट समेत उनले अपमान सहनुपरेको थियो । उनीहरुले सन्तुकुमारीलाई गोप्यरुपमा अर्कैै मान्छेसित भागेको र विवाह गरेको आरोप समेत लगाए । उनीसँग सबैकुरा सहनुको कुनै विकल्प नै थिएन। उनीसँग सहयोग र कुरा गर्ने कोही पनि थिएन ।
सिएनएनमा प्रकाशित सन्तुकुमारी सहितका ७ जना विधवाको कथा पढ्न यहाँ क्लिक गर्नुहोला ।
जब सन् २०१५ मा नेपालमा भूकम्प गयो, उनी घरभित्र बसेर खाना खाँदै थिइन् । उनले आँखा बन्द गरेर भुकम्प रोकिने प्रतिक्षा गरिन् । भुकम्प तत्काल नरोकिएपछि उनी घरबाहिर निस्किन् । उनी त्यहाँबाट बाहिर निस्कनासाथ उनको घर ढल्यो । उनका सबै सामानहरु पुरिए । उनको अवस्था पहिले भन्दा पनि दर्दनाक भयो । पहिले नै श्रीमान् गुमाएकी सन्तुकुमारीको बाँकी सम्पत्ति पनि सेकेण्डभरमा नै विनाश भएपछि उनको मन छियाछिया भयो ।
भुकम्पपछि उनीसँग कुनै आम्दानी थिएन । राहत सामाग्रीपनि बाहिर निस्केर बोल्न सक्नेहरुलेमात्र पाए । पुरुषहरु बाहिर निस्केर बोल्न सक्ने भएकाले प्राथमिकतामा परे । एकल महिलाहरु बाहिर निस्केर बोल्न सकेनन् । यदि महिला एकल छिन् भने उनलाई चुपलाग्न भनिन्छ । किनभने उनको श्रीमान् हुँदैन । भुकम्पपछि वुमन फर ह्युमन राइट भन्ने संस्थाले उनीहरुमध्ये १५ जनालाई अस्थायी घर निर्माणमा सघायो । संस्थाले पानीका पाइप, बाल्टीहरु पनि प्रदान गरेको थियो । सन्तुकुमारीले आफ्नै मिहिनेतले जिवनयापन गर्न थालिन् ।