लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित


प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार

लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् ।

दुई ठाउँका लागि कुल पाँच जनाको उम्मेदवारी रहेको उक्त वडामा निकै कडा प्रतिस्पर्धाबीच गुरुङ विजयी भएका हुन्। उनीसंग पराजित उम्मेदवारसंग उनको मात्र ४२ मतको फरक छ ।

उनीसंगै अर्को काउन्सिलरमा पनि कञ्जरभेटिभ पार्टीकै उम्मेदवार शेरा वार्डलले १ हजार ७ सय ४९ मत प्राप्त गरी विजयी भइन् । लेबर पार्टीका प्रतिस्पर्धीद्धयले १ हजार ६ सय ४९ र १ हजार ५ सय ८२ मत ल्याएर पराजित बने ।

दोस्रोपटक निर्वाचित भएपछि काउन्सिलर गुरुङले खुशी व्यक्त गरे ।

तर सत्तारुढ पार्टीविरुद्ध अन्य पार्टीले अघोषित गठवन्धन गरेको, लिबरल डेमोक्रयाटले उम्मेदवारी नदिएका कारण बार्नेट काउन्सिलमा कञ्जरभेटिभ पार्टीले बहुमत गुमाएको बताए ।

कञ्जरभेटिभकै बहुमत आएका भए यसपटक मेयरका लागि पहिलो दाबेदार नै आफू रहेकोमा अब त्यो अवसरबाट बञ्चित भएको उनले सुनाए ।

८ मतले पराजित भए शर्मा, टाउन काउन्सिलर भने निर्वाचित

 

इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा. जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन् ।

कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए । उनले ५५१ मत प्राप्त गरेका थिए । ग्रीन पार्टीका केभिन फोस्टर ५५९ मतसहित विजयी भएका छन् ।

कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए ।

बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन् । शर्माको चुनावी अभियानमा अर्थमन्त्री सुनाकले प्रचारप्रचारमा सहभागी भएर हौसला प्रदान गरेका थिए ।

नर्थ योर्कसायर इंग्ल्याण्डको ठूलो काउन्टी मानिन्छ । शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपालीमूलबाट पहिलो थिए । अन्य नेपाली काउन्टी भन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र उम्मेदवार छन् ।

डा. शर्माले यसपटक पूर्ण सफलता प्राप्त नगरे पनि उम्मेदवार छनोट अघि वाचा गरेको सार्वजनिक यातायात सेवामा सुधार, काउन्सिल ट्याक्स घटाउने, नयां जागिर र व्यवसाय सृजना, स्वास्थ्य सेवा सुधार, भूतपूर्व गोर्खाको समान पेन्सन मुद्दामा सहयोग, बेलायत र नेपाल सरकार तथा जनता जनताबीच सुमधुर सम्वन्ध विस्तार, सुरक्षित सडक, कन्जरभेटिभ पार्टीको नीति तथा विचार प्रवर्धन एवं बहुसांस्कृतिक काउन्टी बनाउने प्रतिवद्धता दोहोरयाए ।

रोयल आर्मी मेडिकल कोर्पस्मा रिजर्भड आर्मी अफिसर समेत रहेका शर्मा सन् २०१२ देखि काउन्सिलर र कोर्लबर्न टाउनको डेपुटी मेयर तथा मेयर भइसकेका छन् ।

पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन् ।

सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए  ।

स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्मा जनस्वास्थ्य तथा संक्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् ।

रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा पनि जागिरे थिए ।

शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपतकालीन स्वास्थ्य सम्बन्धि सहायता तथा तालिम प्रदान गर्ने ‘इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिम’ मा पनि सदस्य छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com