कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध


प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार

–रमेश लम्साल

के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुुहुन्छ रु यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ । किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छन्, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन आएको छ । त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ ।

भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा मात्रै कूल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेजजस्ता सामग्री आयात भएको पाइएपछि सरकारको आँखा यी पदार्थको आयातमा पुगेको हो । पछिल्लो समयमा देशको आर्थिक अवस्थाबारे विभिन्न प्रश्न उठिरहेका बेला सरकारले आजदेखि लागू हुने गरी ती सामग्री आयातमा प्रतिबन्ध लगाई मुलुकको आर्थिक स्वास्थ्य अवस्था सुधारको पहल थालेको हो ।

विदेशी मुद्राको सञ्चिति ६।७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले यीलगायतका केही विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी उक्त सामग्रीको आयातमा प्रतिबन्ध लगाएको हो । भन्सार विभागका अनुसार बङ्गलादेश, चीन, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, ताइवान, अमेरिका र बेलायतबाट चिजबल, लेज, कुरकुरे जस्ता सामग्री आयात भएका छन् ।

त्यस्तै, सरकारले ५८ प्रकारका रक्सी तथा रक्सीजन्य पदार्थको आयातमा समेत प्रतिबन्ध लगाएको छ । नेपालमा चालु आवको नौ महिनामा प्रमुख रुपमा १५ लाख २५ हजार १९३ लिटर मदिरा स्वदेश भित्रिएको छ । त्यसमा बियर बनाउने माल्टदेखि वाइन र ह्विस्की तथा अल्कोहल कन्टेन्ट रहेका छन् । विभागका अनुसार ती सामग्रीको आयात मूल्य रु दुई अर्ब एक करोड ११ लाख ५९ हजार बराबर छ । सरकारले त्यसबाट रु तीन अर्ब ५७ करोड ३८ लाख ६७ हजार बराबरको राजश्व सङ्कलन गरेको छ ।

उद्योग मन्त्रालयका अनुसार चुरोट तथा सुर्तीजन्य वस्तु आयातमा प्रतिबन्ध लागेको सूचनामा उल्लेख छ । चालु आबको नौ महिनाको अवधिमा मात्रै १८ लाख किलो सुर्तीजन्य पदार्थ आयात भएको छ ।

उद्योग मन्त्रालयका अनुसार हिरा (औद्योगिक कच्चापदार्थ बाहेक)का सामग्री आयातमा प्रतिबन्ध लागेको छ । त्यस्तै, ६०० अमेरिकी डलरमाथिको मोबाइल सेटको आयात समेत तत्कालका लागि रोक लगाइएको छ ।

सरकारले ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन पनि आयात गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

त्यस्तै, जीप, कार र भ्यान आयात गर्न रोक लागेको छ । एम्बुलेन्स र शववाहन बाहेकका कुनै पनि सामग्री आयात गर्न नपाइने मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।

त्यसैगरी २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, तास आयातमा प्रतिबन्ध लागेको छ । पैठारीमा बन्देज लगाइएका ती वस्तु नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफँैले भने आयात गर्न कुनै बाधा नपर्ने सूचनामा उल्लेख छ ।

यस्तै, मङ्गलबारभन्दा अघिदेखि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा यो व्यवस्था लागू नहुने उद्योग मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले जानकारी दिनुभयो । विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सामग्री आयातमा क्रमशः प्रतिबन्ध लगाउँदै आएको छ । अर्थ मन्त्रालयले विलासी सवारी साधनलगायतका सामग्रीको हकमा एलसी नखोल्नसमेत आग्रह गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म नेपालको बैंकिङ प्रणालीमा कूल नौ अर्ब ५८ करोड अमेरिकी डलर मौज्दात रहेको छ । चालु आवको आठ महिनामा अमेरिकी डलरको सञ्चितिमा १८।५ प्रतिशतले कमी आएको छ । डलर सञ्चिति ओरालो लागेपछि सरकारले अत्यावश्यक बाहेकका सबै वस्तुको आयातमा रोक लगाउनु परेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com