महामारीमा बेरोजगारी विमामा बढी रकम बाडिएको भन्दै फिर्ता माग्दै न्युयोर्क राज्य सरकार
प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार
Photo by Karolina Grabowska on Pexels.com
न्युयोर्कको डिपार्टमेन्ट अफ लेबरले महामारीमा बेरोजगारी विमामा ४२५ मिलियन डलर रकम बढी बाडिएको भन्दै कतिपय व्यक्तिबाट रकम फिर्ता मागिरहेको छ । न्युयोर्क राज्यमा बेरोजगारी बिमा रकम प्राप्तकर्ताहरूले आफूले पेश गरेको जानकारी साँचो ठानेको अवस्थामा पनि ठगीको लागि दोषी पाउन सकिने प्रावधान छ । अहिले बेरोजगारी विमावापत बाडेको रकम फिर्ता गर्नेमा अमेरिकामा न्युयोर्क राज्य अग्रस्थानमा देखिएको छ ।
न्युयोर्क राज्य जत्तिकै जोसका साथ कुनै पनि राज्यले बेरोजगारी विमा बापत बढी भुक्तान गरिएका मुद्दाहरू पछ्याउँदैन। न्युयोर्क राज्यले सन् २०२० र २०२३ को बीचमा ४२५ मिलियन बढी रकम भुक्तानी गरेको रिपोर्ट सार्वजनिक गरेको छ । तीमध्ये झन्डै दुई तिहाई धोखाधडी सम्बन्धित भएको न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ । धोखाधडी भएको पाइएमा रकम प्राप्तकर्ताहरू उक्त रकम फिर्ता गर्न बाध्य हुन्छन् ।
धेरैलाई आफूले ठगी गरिरहेको बारे जानकारी समेत थिएन । यदि कसैले जानी जानी गलत विवरण नदिएको भएमा राज्यहरूले निश्चित अतिभुक्तानीहरू फिर्ता गर्ने दायित्वलाई माफ पनि गर्न सक्छन् । धेरै राज्यहरूसँग यसबारे स्पष्ट परिभाषा समेत छ । तर न्युयोर्कमा त्यसको कुनै पनि वैधानिक परिभाषा छैन, त्यसैले अनुसन्धानकर्ताहरूले लाभहरूको लागि आवेदकले जानेर वा अन्जानमा गल्ती गरेको बारे विचार गर्नुपर्दैन।
विमा रकम लिएकाहरुले पाँच सदस्यीय बेरोजगारी बीमा अपील बोर्डमा अपील पनि गर्न सक्छन् । तर बोर्डले प्राय आक्रामक रवैया अपनाउने गरेको जनाइएको छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले राज्यहरूलाई महामारीमा गल्तीले गरिएका भुक्तानहरू माफ गर्न प्रोत्साहित गरेको छ । म्यासाचुसेट्स र कनेक्टिकट जस्ता राज्यहरूले २०२० देखि २०२३ सम्मका क्रमशः २८ प्रतिशत र १९ प्रतिशत राज्य र संघीय मामिलाहरू माफ गरेका थिए । टेक्सासले पनि ३४ प्रतिशत माफ गरेको थियो ।
तर न्युयोर्कले भने जम्मा ३ प्रतिशत मात्र माफी गरेको छ । डिपार्टमेन्ट आफ लेबरले गल्तीको जिम्मेवारी डिपार्टमेन्ट आफैं रहेको अवस्थामा पनि सेवाग्राहीलाई नै ठगी गरेको आरोप लगाउने गरेको छ ।






