पुटिनले शहबाज शरिफलाई त्यस्तो के भने इमरान खान आए निशानामा ?


प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पाकिस्तानका नयाँ प्रधानमन्त्रीलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनले भविष्यमा दुई देशबीचको सहयोग थप बढ्ने आशा राखेका छन् ।

पाकिस्तानस्थित रुसी दूतावासले राष्ट्रपति पुटिनको सन्देश ट्वीट गरेको छ । राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै जारी सन्देशमा भनिएको छ, ‘राष्ट्रपति पुटिनले पाकिस्तानका नयाँ प्रधानमन्त्री शहबाज शरिफलाई बधाई दिएका छन् र भविष्यमा दुई देशबीच सहयोग थप बढ्ने बताएका छन् । अफगानिस्तान र अन्तरराष्ट्रिय आतंकवादसँग लड्ने मोर्चामा पनि दुई देशबीच सहयोग बढ्ने आशा छ ।’

यसअघि शहबाज शरिफले टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए । प्रधानमन्त्री मोदीले आफूले नयाँ नेतृत्वबाट सहयोगको आशा राखेको बताएका थिए ।

टर्कीका राष्ट्रपतिले बधाई दिँदै दुई देशबीच गहिरो सम्बन्ध छ र भोलिको समयमा थप बलियो हुने बताएका थिए । अर्दोआनले भने, ‘विभिन्न मुश्किलका बावजुद पाकिस्तानले आफूलाई लोकतन्त्रबाट टाढा राखेको छैन र कानुन–व्यवस्था बनिरह्यो । टर्की पाकिस्तानलाई हरेक मोर्चामा मद्दतका लागि तयार छ ।’

इमरान खान जब प्रधानमन्त्री थिए तब उनले यसै वर्ष २४ फेब्रुअरीमा रुसको भ्रमण गरेका थिए । इमरान खान रुस पुगेकै दिन रुसी राष्ट्रपति पुटिनले युक्रेनमा विशेष सैन्य कारवाहीको घोषणा गरेका थिए ।

इमरान खानको सरकार बहुमत बिना ढल्दा उनले अमेरिकाले षड्यन्त्र गरेर आफ्नो सरकार ढालेको आरोप लगाएका थिए । इमरान खानको पार्टी तहरिक–ए–इन्साफका थुप्रै नेताले सरकार ढाल्नुमा खानको रुस भ्रमणसँग जोडेका थिए ।

अब जब रुसी राष्ट्रपतिले शहबाज शरिफलाई बधाई दिएपछि इमरान खानको बयानमा पाकिस्तानका जनताले प्रश्न उठाइरहेका छन् ।
पाकिस्तानका चर्चित पत्रकार हामिद मिरले रुसी दूतावासको ट्वीलाई रिट्वीट गर्दै लेखेका छन्, ‘रुसी राष्ट्रपतिले ती व्यक्तिलाई बधाई दिए जो अमेरिकाको षड्यन्त्रको बलमा सत्तामा आएका छन् ।’

अमेरिकामा पाकिस्तानका राजदूत रहेका हुसैन हक्कानीले पनि रुसी दूतावासको ट्वीटलाई रिट्वीट गर्दै लेखेका छन्, ‘पुटिनले ती व्यक्तिलाई बधाई दिएका छन् जसबारे इमरान खानले अमेरिकी षड्यन्त्रबाट सत्तामा आएको आरोप लगाएका थिए । इमरान खानले आफ्नो रुस भ्रमणलाई पनि प्रधानमन्त्रीको कुर्सीसँग जोडेका थिए । षड्यन्त्र धेरै नै गहिरिएन  ?’

पाकिस्तानी लेखक युसुफ नजरले पनि पुटिनको बधाईमा लेखेका छन्, ‘चीन, रुस र टर्कीले शहबाज शरिफ प्रधानमन्त्री बनेकोमा स्वागत गरेका छन् । तर अमेरिकालाई लाग्छ कि यो अमेरिकी षड्यन्त्र थियो । यदि अमेरिकी षड्यन्त्र भएको हो भने रुस र चीनले यसरी स्वागत गर्ने थिएनन् ।’

पाकिस्तानी पत्रकार मुर्तजा अली शाहले पनि लेखेका छन्, ‘पाकिस्तान तहरिक–ए–इंसाफविरुद्ध कथित अन्तर्राष्ट्रिय षड्यन्त्रमा रुसी राष्ट्रपति पुटिन पनि समावेश भएका छन् ।’

पाकिस्तानको समा टिभीमा इन्भेस्टिगेशन युनिटका प्रमुख जाहिद गिशकोरीले पुटिनको बधाईमा लेखेका छन्, ‘रुसले शहबाज शरिफको नेतृत्वमा दुई देशबीच सहयोग बढ्नेछ । पाकिस्तानका धेरै मानिसले पुटिनको बधाईलाई निकै महत्वपूर्ण मानेका छन् । पाकिस्तानका पूर्व सिनेटर फरहातुल्लाह बाबरले पाकिस्तानले आफ्नो साझेदारीको विस्तार गर्नुपर्ने लेखेका छन् ।’

इमरान खानको रुस भ्रमणः

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको रुस भ्रमणको चर्चा थुप्रै कारणले भइरहेको थियो । सबैभन्दा ठूलो कारण भनेको जुन दिन इमरान खान मस्को पुगेका थिए त्यसै दिन रुसले युक्रेनमाथि हमला गरेको थियो ।

इमरान खानलाई यसबारे केही थाहा थिएन भन्ने पनि होइन किनभने एकदिन अघि मात्रै पुटिनले पूर्वी युक्रेनका दुई इलाकालाई स्वतन्त्र रुपमा मान्यता दिएको थियो ।

यसबाहेक महिनौँदेखि युक्रेनको विषयमा तनाव चलिरहेको थियो । थुप्रै जानकारका अनुसार इमरान खानले आफ्नो भ्रमण स्थगित गरिदिनु पर्दथ्यो ।

पाकिस्तानका चर्चित स्तम्भकार फारुख सलिमले ट्वीट गरेर भने, ‘रुसले युक्रेनमाथि हमला गर्यो । उसले अन्तर्राष्ट्रिय नियमन तोडेको छ । विश्वभरीका विचार रुसको पक्षमा छैन । इमरान खानले यस्तो बेलामा रुसको भ्रमण गरेर युक्रेनमाथि उसको हमलालाई सही बताइरहेको छ ?”
फारुखले आफ्नो अर्को ट्वीटमा भनेका थिए, ‘पाकिस्तान र रुसको द्वीपक्षीय व्यापार प्रति वर्ष ४० करोड डलरको छ । रुससँग जे चाहिन्छ, त्यो पाकिस्तानसँग छैन । रुसलाई इलेक्ट्रिकल र इन्डष्टियल मेसिनरी चाहिन्छ । रुसलाई पाकिस्तानको उत्पादनको आवश्यकता छ । इमरान खानको भ्रमणले पाकिस्तानले केही पनि हासिल हुने वाला छैन ।’

फारुख सलिमले लेखेका थिए,‘रुसको संसारभरी विरोध भइरहेको छ । विश्वव्यापी जिडिपीमा रुसको तीन प्रतिशत मात्रै हिस्सा छ । पाकिस्तानको कुल निर्यातको एक प्रतिशत मात्रै रुसलाई जान्छ । आइएमएफमा २।५ प्रतिशत भोट रुसको नियन्त्रणमा छ । एफएटीएफमा पनि रुसको भूमिका शून्य बराबर छ । पाकिस्तानले रुसबाट के पाउला ?’

बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com