एक्सट्राअर्डिनरी ग्रिनकार्डका लागि २ मापदण्डका प्रमाणबारे युएससीआईएसको नीति अपडेट
प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार
रोजगारमा आधारित पहिलो श्रेणीको एक्सट्राअर्डिनरी ग्रिनकार्डका लागि कस्ता प्रकाशित सामाग्री आवश्यक पर्ने भन्नेबारे युएससीआईएसले नीति अपडेट गरेको छ । असाधारण योग्यताका व्यक्तिले जागिरको अफर विना आफै आवेदन दिनसक्ने यो श्रेणीका लागि प्रकाशित सामाग्री र नेतृत्वदायी भूमिकाका सन्दर्भमा विगतको तुलनामा सहज बनाइएको छ ।
विज्ञान, कला, शिक्षा, ब्यापार र खेलकुदका सन्दर्भमा असाधारण योग्यता भएकाहरु र अतिदक्ष प्रोफेसर र शोधकर्ताहरुका लागि नीतिमा अपडेट गरिएको हो । १० वटामध्ये तीनवटा मापदण्डमा आफ्नो योग्यता पुष्टी गर्न सकेको खण्डमा रोजगारमा आधारित ग्रिनकार्डका लागि योग्य हुनसकिन्छ । यी १० मध्ये २ वटा मापदण्डका सन्दर्भमा नीति अपडेट गरिएको हो ।

असाधारण योग्यताको व्यक्तिका बारेमा वा प्रोफेसर र शोधकर्ताहरुको कामका सन्दर्भमा प्रकाशित सामाग्रीबारे नीति अपडेट गर्दै मुख्य संचारमाध्यम वा प्रकाशकहरुले सामाग्री छापेकै हुनु नपर्ने तथा आवेदकले अडियो वा भिडियो सामाग्रीको ट्रान्सक्रिप्ट समेत पेश गर्न सक्ने स्पष्ट पारिएको छ । विगतमा यस सन्दर्भमा मुख्य संचारमाध्यममा सामाग्री छापिएकै हुनुपर्ने प्रावधान रहेको थियो ।
त्यस्तै कुनै संस्थामा नेतृत्वदायी वा मुख्य भूमिकाका सन्दर्भमा सिंगै संस्था वा संस्थाको स्थापनामा नेतृत्वदायी वा मूख्य भूमिका हुनुपर्ने विगतको प्रावधानबारे पनि स्पष्ट पारिएको छ । अब सिंगै संस्था वा संस्थाको स्थापनामा नेतृत्वदायी वा मूख्य भूमिकाका अतिरिक्त कुनै विभाग वा प्रभागमा नेतृत्वदायी वा मूख्य भूमिका पूरा गरेको प्रमाणलाई समेत स्वीकार गरिने भएको छ ।






