रुसी फौजद्वारा लगभग सबै दिशाबाट हमला : युक्रेन सेना
प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार
रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ। युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार ‘कठिन समय’ भएको फेजबुक पेजमा लेखेका छन्।
फेसबुक पेजमा,युक्रेनको सशस्त्र बलका जनरल स्टाफले आइतवारलाई कठिन दिनको रूपमा वर्णन गरे। ‘यो धेरै कठिन दिन थियो। रुसी सैनिकहरू लगभग सबै दिशाबाट आक्रमण गरिरहेका छन्। चारैतिरबाट बारुदको वर्षा भइरहेको छ।’
यद्यपि, यसअघि उत्तर-पूर्वी युक्रेनको खार्किभ सहरका क्षेत्रीय प्रशासनिक प्रमुखले रुसी सेनाविरुद्ध सडकमा लडेर स्थानीय सेनाले सहरको पूर्ण नियन्त्रण फिर्ता लिएको बताएका थिए।
युक्रेनका उपरक्षा मन्त्रीले युद्धमा हालसम्मको हताहत र क्षतिको अनुमानित तथ्याङ्क सार्वजनिक गरेका छन् । युक्रेनले जारी गरेको अनुमानित तथ्याङ्क अनुसार रुसी सेनाका ४ हजार ३ सय सैनिक युद्धमा मारिएका छन् ।
खार्किव युक्रेनको दोस्रो ठूलो सहर हो र यहाँ युक्रेनी सेनाले हासिल गरेको यो सानो सफलताले उनीहरूको मनोबल बढाउन सक्छ।






