प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित


प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार

अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गर्नु भएको थियो । सो प्रस्तावलाई ध्वनिमतले पारित गरिएको हो ।

लामो बहस र विवादपछि उक्त सम्झौता आज पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

एमसीसी कम्प्याक्ट लागु भएका २३ देशहरु

आर्थिक विकाशलाई सघाउने उद्देश्यले अमेरिकाले एमसीसीमार्फत विश्वका विभिन्न देशलाई सहयोग गर्दै आएको छ । अहिलेसम्म विश्वका झण्डै दर्जन देशमा यो कम्प्याक्ट लागु भइसकेको छ ।

नेपालको सन्दर्भमा नेपाल कम्प्याक्टको बारेमा विभिन्न आशंकाहरु गरिएका छन् । तर एमसीसीको विगतको इतिहास हेर्दा कुनै भूराजनीतिक वा अन्य किसिमको अवस्था नहेरी उक्त देशको आर्थिक विकाशका सन्दर्भमा यो परियोजना लागु भएको देखिन्छ ।

अर्मेनिया, बेनिन, बुर्किना फासो, काबो वर्डे, एल साल्भाडोर, जर्जिया, घाना, होण्डुरस, इन्डोनेशिया, जोर्डन, लेसोथो, मालावी, मोल्दोभा, मंगोलिया, मोरक्को, मोजाम्बिक, नामिबिया, निकारागुवा, फिलिपिन्स, सेनेगल, तान्जिनिया, भानुआटु र जाम्बियामा एमसीसी कम्प्याक्ट लागु भइसकेका छन् । घानामा नेपालको भन्दा धेरै ५४ करोड डलर र इन्डोनेशियामा पनि नेपालको भन्दा धेरै ६० करोड अमेरिकी डलरका कम्प्याक्ट लागु भइसकेका छन् ।

त्यस्तै मोरक्कोमा ६९ करोड, मोजाम्बिकमा ५० करोड, सेनेगलमा ५४ करोड र तान्जिनियामा ६९ करोड डलरका एमसीसी कम्प्याक्ट लागु भइसकेका छन् । नेपालले ५० करोडको एमसीसी सहायतामा हस्ताक्षर गरेयता सन् २०१८ मा सेनेगलले ५५ करोडको र मंगोलियाले ३५ करोडको कम्प्याक्टमा हस्ताक्षर गरिसकेको छ ।

अहिलेसम्म अमेरिकाले झण्डै ७९ देशमा एमसीसीका परियोजनाहरुमा काम गरेको छ । ४७ वटा कम्प्याक्ट र ३१ थ्रेसहोल्डमा काम भएका छन् । कुनैपनि देशले सुरुमा थ्रेसहोल्ड पास गरिसकेपछि उक्त देशका लागि अमेरिकाले उक्त देशका लागि कम्प्याक्ट पारित गर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com