संक्रमणदरमा ९० प्रतिशत कमी, ७० प्रतिशत अमेरिकन मास्कविना हिड्नसक्ने सीडीसीको नयाँ निर्देशिका
प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार
अमेरिकन सीडीसीले ७० प्रतिशत अमेरिकनहरुले मास्कविना हिड्नसक्ने निर्देशिका जारी गरेको छ । कोरोना भाइरससँगै बाँच्न र साधारण जीवनको केही भागमा फिर्ता हुनका लागि मुलुकभरका लागि सीडीसीले समुदायलाई सघाउन नयाँ रणनीतिसहितको निर्देशिका जारी गरेको हो ।
नयाँ निर्देशिका अनुशार ७० प्रतिशत अमेरिकनले मास्क लगाउन छाड्नसक्नेछन् । सामाजिक दुरी कायम गर्न आवश्यक छैन भने घरभित्रको भींडभाड युक्त स्थलमा जानबाट समेत हिचकिचाउनुपर्ने छैन । तर ती समुदायले तीनवटा मापदण्ड भने पूरा गरेको हुनुपर्छ । अस्पताल भर्ना हुने दर, अस्पतालमा ओगटिएका बेडको दर र हरेक एकलाखमा संक्रमित दरका आधारमामात्र मास्कमा छुट दिइनेछ ।

यी तीनवटा आधारमा कम जोखिमयुक्त क्षेत्रमा मात्र मास्क लगाउन आवश्यक पर्नेछैन । तर बढी जोखिमयुक्त क्षेत्रमा भने अझै पनि मास्क लगाउनुपर्नेछ । गत जुलाईमा सीडीसीले सबै स्कुल क्षेत्रमा मास्क लगाउन सिफारिस गरेको थियो । तर अब भने जोखिमयुक्त क्षेत्रका स्कुलम मात्र मास्क लगाउन सिफारिस गरेको छ ।
कोरोना संक्रमण र अस्पताल भर्ना हुने दरमा गिरावट आएपछि सीडीसीको नयाँ निर्देशिका आएको हो । अमेरिकामा ओमिक्रोन उच्चबिन्दुमा पुगेको जनवरीको मध्ययता कोरोना संक्रमणदर ९० प्रतिशत घटेको छ भने गत दुईसातामा अस्पताल भर्ना हुने दर ५४ प्रतिशत घटेको छ ।
सीडीसीको निर्देशिका अगाडि नै कैयन राज्यहरुले कोरोना सम्बन्धित प्रतिबन्धहरु हटाइसकेका छन् । विगतको मापदण्ड अनुशार ९५ प्रतिशत अमेरिकाका काउन्टीहरु उच्च जोखिमयुक्त क्षेत्रमा रहेका थिए भने नयाँ मापदण्ड अनुशार ३० प्रतिशत भन्दा कम काउन्टीहरुमात्र उच्च जोखिमयुक्त क्षेत्रमा परेका छन् ।






