उत्तरी गोलार्धमा कोरोना इन्डेमिक चरणतिर, तर बार्षिक खोप आवश्यक पर्नसक्ने
प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार
विश्वको उत्तरी गोलार्धमा कोरोना महामारी इन्डेमिक चरणतिर प्रवेश गरिरहेको तर बार्षिक रुपमा भने खोपको आवश्यकता पर्नसक्ने कोरोनाविरुद्धको खोप उत्पादक मोडेर्नाले जनाएको छ । मोडेर्नाका प्रमुख मेडिकल अधिकृत पउल बुर्टोनले कोरोना महामारी इन्डेमिक चरणमा प्रवेश गरेको बताएका हुन् ।
कुनै पनि रोग महामारीबाट नियमित भइसकेपछि र नियन्त्रण गर्न सकिने चरणमा पुगेपछि त्यसलाई इन्डेमिक भनिन्छ । कोरोना इन्डेमिक चरणमा पुग्दा अस्पताल भर्ना हुने र मृत्यु हुने दर स्थीर हुने मोडेर्नाका प्रमुख मेडिकल अधिकृतको भनाई छ । इन्डेमिक चरणमा पनि कोरोनबाट केही व्यक्ति बिरामी हुने र मृत्यु हुने भने क्रम पूर्णरुपमा भने रोकिन्न ।

मोडेर्नाका कार्यकारीहरुले यो बर्षको अन्तिमसम्ममा ओमिक्रोन र डेल्टा भेरियन्टलाई लक्ष्यीत गरेर बनाइएका बुस्टर डोज आवश्यक पर्ने बताएका छन् । उत्तरी गोलार्धमा उत्तर अमेरिका, युरोप, एसियाका अधिकांश भागहरु र अफ्रिकाका अधिकांश भागहरु पर्दछन् । दक्षिणी गोलार्धमा चिसो मौषम सुरु हुँदै गरेकाले त्यहाँको अवस्थाबारे पनि नजिकबाट अवलोकन गरिरहेको मोडेर्नाले जनाएको छ ।
इन्डेमिक अवस्थामा रहेको कोरोनाका कारण बार्षिक ६५ बर्षभन्दा माथिका साढे ३ लाख अस्पताल भर्ना हुनसक्ने र २० हजार मृत्यु हुनसक्ने अनुमान मोर्डनाका प्रमुख मेडिकल अधिकृतले गरेका छन् । खासगरी ५० बर्षभन्दा माथिका र प्रतिरोध क्षमता कमजोर भएकाहरुलाई आगामी बर्षातिर बुस्टर डोज आवश्यक पर्ने मोडेर्नाका सीईओ स्टेफन वंशलले बताएका छन् ।

अमेरिकामा जनवरी १५ मा ओमिक्रोन उच्च बिन्दुमा पुगेयता कोरोना संक्रमण ९० प्रतिशतले घटेको छ । साप्ताहिक रुपमा हेर्दा अहिले कोरोनाको संक्रमण दर अमेरिकामा दैनिक ८० हजारको हाराहारीमा रहेको छ । यो दर ओमिक्रोन उच्च बिन्दुमा पुग्दा दैनिक ८ लाख रहेको थियो । जनवरी २० मा अस्पतालमा भर्ना हुनेहरु १ लाख ५९ हजार रहेकोमा अहिले यो दर ६० हजारमा झरेको छ ।
विश्वब्यापी रुपमा पनि कोरोना संक्रमण २१ प्रतिशतले घटेको छ । गतसाताको तुलनामा मृत्युदर पनि ८ प्रतिशतले घटेको छ ।






