राष्ट्रिय राजनीतिमा नयाँ धु्रवीकरणको सम्भावना : एमाले उपाध्यक्ष थापा


प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले केही दिनमै नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको सङ्केत देखापरेको बताउनुभएको छ । सुर्खेतमा आज स्थानीय तहको निर्वाचन केन्द्रीत प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उहाँले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ धु्रवीकरण देखापर्ने बताउनुभएको हो ।

नेता थापाले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने अडान कायमै रहेको स्पष्ट पार्नुभयो । “जबसम्म एमालेको माग पूरा हुँदैन, तबसम्म एमसिसीका बारेमा पार्टीले कुनै धारणा बनाउँदैन”, उहाँले भन्नुभयो, “यदि सरकारलाई एमालेको सहयोग चाहिएको हो भने पहिले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउनुप-यो ।” उपाध्यक्ष थापाले एमालेविरुद्ध बनेको गठबन्धनका कारण मुलुक अस्थिरता र अराजकतातर्फ धकेलिएको टिप्पणी गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा उहाँले एमालेकै नेतृत्वमा समृद्धिको अभियान अघि बढ्ने भन्दै निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेललगायतले स्थानीय तहको निर्वाचन तयारी केन्द्रित मन्तव्य व्यक्त गर्नुभएको थियो । दुईदिने प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, सङ्घीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारीको सहभागिता छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com