दुबईमा बन्यो ‘विश्वकै सुन्दर भवन’
प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार
दुबईमा आयोजित भव्य समारोहबीच विश्वकै सुन्दर भवनको रुपमा चिनिएको ‘म्युजियम अफ द फ्युचर’को उद्घाटन गरिएको छ । यो भवन बनाउन नौ वर्ष लागेको थियो ।
७७ मिटर अग्लो रहेको यो सात तले भवन ३० हजार वर्ग मिटरमा निर्माण गरिएको हो । यो संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाबाट केही दूरीमा अवस्थित छ।
‘म्युजियम अफ द फ्युचर’ दुबईमा निर्माण गरिएका वास्तुकलाका नमूनाहरूमा सबैभन्दा नयाँ थपिएको छ। एक प्रेस विज्ञप्तिमा भनिएको छ ‘संग्रहालयले मानवताको भविष्यको रूपरेखा प्रस्तुत गर्दछ र मानव विकासले सामना गर्ने चुनौती र अवसरहरूको नवीन समाधानलाई प्रेरित गर्दछ।’
युएईका क्याबिनेट मामिला मन्त्री तथा दुबई फ्युचर फाउन्डेसनका अध्यक्ष मोहम्मद अल गेर्गावीले मंगलबार उद्घाटन समारोहमा ‘भविष्यको सङ्ग्रहालय’ जीवित सङ्ग्रहालय भएको बताए।
किल्ला डिजाइनका वास्तुकार सीन किल्लाद्वारा डिजाइन गरिएको भवन, इन्जिनियरिङ् र कम्प्युटर-सहायता डिजाइनको उत्कृष्ट कृति हो। यो स्टेनलेस स्टीलबाट बनेको छ र रोबोटहरू प्रयोग गरेर सिर्जना गरिएको १,०२४ कलाकृतिहरू छन्। यो भवन मानिसहरुको आकर्षणको केन्द्र बनेको छ । यसलाई हेर्न ठूलो संख्यामा मानिसहरु आउने गरेका छन् ।एजेन्सी





