अमेरिकामा हाइटेक पकेटमार, आँखै अगाडि ३ मिनेटमा ४ हजार डलर गायब


प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार

अमेरिकाको फ्लोरिडामा हाइटेक पकेटमारको फन्दामा परेर एकजना महिलाले झण्डै ४ हजार डलर गुमाइनन् । हाइटेक पकेटमारले महिलाको फोनसेट मागेर उनकै अगाडि झण्डै ४ हजार डलर भेन्मोमार्फत पठाउन खोजेको शानन फ्रेजर नामकी महिलाले बताएकी छिन् ।

फ्रेजर कुकुर डुलाउन हिडिरहेको बेलामा एकजना झण्डै १२ बर्षको केटा स्कुटरमा नजिक आयो । उसले आफ्नो फोन बन्द भएको र परिवारका सदस्य तथा साथीहरुबाट हराएको बतायो । त्यसपछि उसले परिवारका सदस्यहरुलाई फोन गर्न भन्दै फ्रेजरको फोन माग्यो ।

त्यसपछि फ्रेजरले उक्त केटोलाई सहायता गर्ने उद्देश्यले आफ्नो फोन दिइन् । उक्त केटाले कसैलाई फोन लगायो र स्पीकरमा कुरा गर्दै आफू हराएको बतायो । त्यसपछि उसले फोनमा म्याप खोल्नका लागि फ्रेजरलाई सोध्यो । फ्रेजरले अनुमति दिएपछि उसले म्याप खोल्यो ।

त्यसपछि त्यो केटा त्यहाँबाट गयो । तर जब सोमबार राती बैंकबाट अलर्ट आयो, तब फ्रेजर झसंग भइन् । बैंकबाट १८ सय डलर र २ हजार डलरको भेन्मो ट्रान्सफर स्वीकृत भएको अलर्ट आएको थियो । उनले तत्कालै भेन्मोमा सम्पर्क गरिन् । त्यसपछि उक्त केटोले आफ्नो एकाउन्टमा रकम पठाएको पत्ता लाग्यो ।

उक्त केटोले ती महिलासँग भेट्नुभन्दा आधाघण्टा अगाडिमात्र एकाउन्ट बनाएको पत्ता लाग्यो । एकाउन्ट बनाएर त्यो केटा शिकारको खोजीमा निस्केको र ती महिलालाई भेटेको समेत खुलासा भएको छ । ती महिलाले आफू हाइटेक पकेटमारको फन्दामा परेको बताएकी छिन् ।

आफूले फोनका एप्लीकेशनहरुमा फेस आईडी राख्ने गरेको र भेन्मोमा पनि राखेको ठानेको तर राख्न विर्सेको फ्रेजरले बताएकी छिन् । तीन मिनेटमा उक्त केटाले आफ्नो एकाउन्टबाट ४ हजार डलर लगेको र भेन्मोमा सम्पर्क गरेपछि भेन्मोले उक्त रकम आफ्नो एकाउन्टमा पठाइदिएको उनले बताइन् ।

भेन्मोपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । अरु व्यक्ति पनि आफूजस्तै हाइटेक पकेटमारको फन्दामा नपरुन् भनेर आफ्नो कथा बताएको उनको भनाई छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com