न्युयोर्क सिटीमा फेब्रुअरी २८ सम्म बुस्टर डोज लगाउनेलाई १ सय डलर


प्रकाशित मिति : फाल्गुन १, २०७८ आईतबार

न्युयोर्क सिटीले कोरोनाबिरुद्धको भ्याक्सिनको बुस्टर डोज लगाउनेलाई १ सय डलर दिने कार्यक्रम पुन ल्याएको छ । शनिबारदेखि लागु हुनेगरी यो कार्यक्रम ल्याइएको छ भने फेब्रुअरी २८ सम्म लागु हुनेछ । न्युयोर्क सिटीमा सिटी संचालित खोप केन्द्रमा लगाउनेहरुलाईमात्र यो रकम प्रदान गरिनेछ ।

अमेरिकाभरकै सबैभन्दा ठूलो बुस्टर प्रोत्साहन कार्यक्रमका रुपमा यो कार्यक्रम ल्याइएको हो । गत डिसेम्बरमा पनि यो कार्यक्रम ल्याइएकोमा ठूलो संख्यामा न्युयोर्क सिटीका बासिन्दाले बुस्टर डोज लगाएका थिए । न्युयोर्क सिटीका बासिन्दाहरु सोमोससँग सहकार्य गरेको भ्याक्सिन केन्द्रमा गएर खोप लगाउँदा पनि एकसय डलर प्राप्त गर्नेछन् ।

एकसय डलर समेत प्राप्त हुने भ्याक्सिन केन्द्रहरुमा अप्वाइन्टमेन्ट लिन यहाँ क्लीक गर्नुहोला । एकसय डलर प्राप्त हुने उल्लेख भएका केन्द्रमा मात्र यो रकम पाइनेछ । अरुमा पाइनेछैन ।

यो कार्यक्रम यसअगाडि न्युयोर्क सिटीमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदा एकसय डलरको गिफ्ट कार्ड प्राप्त हुने कार्यक्रमसँग मिल्दो जुल्दो रहेको छ । न्युयोर्क सिटीबाट संचालिन भ्याक्सिन केन्द्र र सोमोससँगको सहकार्यमा संचालिन भ्याक्सिन केन्द्रबाहेक अन्य केन्द्रमा भ्याक्सिनको बुस्टर शट लगाउँदा भने एकसय डलर प्राप्त हुनेछैन ।

भ्याक्सिन लगाउने व्यक्तिले १ सय डलरको गिफ्ट कार्ड प्राप्त गर्नका लागि भ्याक्सिन लगाउने स्थलमा साइनअप गर्नुपर्छ । गिफ्टकार्ड इमेल वा हुलाकबाट प्राप्त गर्न सकिनेछ । गिफ्ट कार्ड प्राप्त गर्न झण्डै एकसाताको अवधि लाग्छ । मार्च ३१ सम्म कार्ड रिडिम गरिसक्नुपर्छ । तर प्रयोग भने पछिसम्मै गर्न पाइन्छ ।

अहिलेसम्म न्युयोर्क सिटीमा ८ लाखले एकसय डलरको गिफ्ट कार्ड पाइसकेका छन् । यो कार्यक्रमले न्युयोर्क सिटीमा भ्याक्सिन लगाउने दरलाई २५ प्रतिशतले बढाएको जनाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com