एरिजोनामा ५ जना प्रहरी अधिकारीमाथि गोली प्रहार, बच्चाको सकुशल उद्दार
प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार

अमेरिकाको एरिजोना राज्यको फिनिक्समा ५ जना प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ । एउटा घरमा अवरोधको स्थीति सामना गर्ने क्रममा उनीहरुमाथि गोली प्रहार भएको र उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।
एउटा घरमा गोली चलेको घटनापछि प्रहरी अधिकारीहरु त्यहाँ पुगेका थिए । सहायताका लागि पुगेका प्रहरी अधिकारीमाथि बन्दुकधारीले गोली चलाएको थियो । घरमा बच्चा पनि रहेको र घटनाकै बीचमा बच्चालाई क्यारिअरमा राखेर घर बाहिर निकालिएको जनाइएको छ ।
बच्चालाई सकुशल उद्दार गर्ने क्रममा बन्दुकधारीले लगातार गोली चलाएको र प्रहरीले पनि जवाफी फायर गरेको थियो । त्यसपछि बन्दुकधारीले आफैलाई घरभित्र बन्द गरेको थियो । शुक्रबार विहानै भएको यो घटनामा एकजना महिलापनि गम्भिर घाइते भएकी छिन् ।
घाइते प्रहरी अधिकारीको अवस्थाबारे केही बताइएको छैन । एकजना गम्भिर रुपमा घाइते भएपनि स्थीतिमा सुधार आइरहेको जनाइएको छ । बच्चापनि सकुशल रहेको जनाइएको छ ।