रुसमा एकैदिनमा एक लाख ८३ हजार सङ्क्रमित, ६६९ जनाको मृत्यु


प्रकाशित मिति : माघ २६, २०७८ बुधबार

रुसमा कोरोनाभाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार १०३ जना नयाँ सङ्क्रमित भएका हुन् ।

अघिल्लो दिन भने एक लाख ६५ हजार ६४३ जना सङ्क्रमित भएका थिए । पछिल्लो एक दिनमा कोरोनाका कारण मृतकको सङ्ख्या ६६९ रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ कुल सङ्क्रमित मध्ये २० हजार १७८ जना मात्रै अस्पताल भर्ना भएका छन् । अन्यको अवस्था भने सामन्य नै रहेकाले घरमै रहेको जनाइएको छ ।

सोही अवधिमा ९७ हजार १६३ जना अस्पतालबाट फर्किएका छन् । नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि दिनप्रति दिन बढ्दै गइरहेको छ ।

यसैगरी दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै हुदै गएको हो ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । देशभरी कुल ४९ हजार ५६७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको कोरिया रोग नियन्त्रण तथा न्युनिकरण विभागले जनाएको छ । यससँगै कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ३१ हजार २३९ पुगेको छ ।

अघिल्लो दिन भने ३६ हजार ७१९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । अघिल्लो दिनभन्दा झण्डै १३ हजार बढी सङ्क्रमित भएको देखिएको छ । यसका आधारमा दैनिक सङ्क्रमितहरुको बृद्धिदर पनि अत्यधिक धेरै भएको छ ।

नयाँ सङ्क्रमित मध्ये ११ हजार ६३० जना राजधानी सोलका मात्रै रहेका छन् । कुल नयाँ सङ्क्रमित मध्ये २८५ जना गम्भीर अवस्थामा रहेका छन । जवकी अघिल्लो दिन नयाँ सङ्क्रमित मध्ये १७ जना मात्रै गम्भीर अवस्थामा रहेका थिए ।

पछिल्लो एक दिनमा दक्षिण कोरियामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या छ हजार ९४३ पुगेको छ । एजेन्सी/फाईल फोटो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com