बुधबारदेखि न्युयोर्कमा मास्क अनिवार्य लगाउन नपर्ने, भ्याक्सिनको प्रमाण पनि देखाउन नपर्ने


प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार

बुधबारदेखि न्युयोर्कमा मास्क अनिवार्य लगाउन नपर्ने भएको छ । व्यवसायहरुले ग्राहकलाई भ्याक्सिनको पूर्ण डोज लगाएको प्रमाण माग्नुपर्ने वा भित्र छँदासम्म मास्क अनिवार्य लगाउन भन्नुपर्ने नियम गभर्नर क्याथी होचुलले बुधबारदेखि हटाउने घोषणा गरेकी छिन् ।

अहिलेसम्म न्युयोर्कका रेष्टुरेण्ट लगायतका इन्डोर व्यवसायमा प्रवेश गर्दा या त भ्याक्सिनको पूर्ण डोज लगाएको प्रमाण देखाउनुपर्छ या त भित्र हुन्जेल मास्क अनिवार्य लगाउनुपर्छ । तर संक्रमणदर घट्दै गएपछि न्युयोर्क राज्यभर मास्क अनिवार्यको नियम हटाइने भएको हो ।

न्युयोर्कका विद्यालयहरुमा मास्क अनिवार्य गर्ने नियम गभर्नर होचुलले जारी राख्नेछिन् वा हटाउनेछिन्, त्यो भने अझै स्पष्ट छैन । न्युयोर्कका विद्यालयहरुमा मास्क अनिवार्य गर्ने नियमको म्याद अब दुईसातामात्र बाँकी रहेको छ । क्यालिफोर्नियाले आगामी सातादेखि मास्क अनिवार्य नगर्ने घोषणा गरे लगत्तै न्युयोर्कमा पनि मास्क अनिवार्य गर्ने नियम हटाउने घोषणा गरिएको हो ।

त्यस्तै कनेक्टिकट, न्युजर्सी, डेलावर र ओरेगनले अस्पतालमा मास्क अनिवार्य नगर्ने मिति तय गरेका छन् । न्युजर्सी गभर्नरले मार्च ७ देखि विद्यालयमा मास्क अनिवार्य नगर्ने नीति घोषणा गरेका छन् । कोरोना संक्रमण घटेको, भ्याक्सिन लगाउने दर बढेको र ओमिक्रोन भेरियन्ट कम खतरनाक रहेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरिएको गभर्नर फिल मर्फीले जनाएका छन् ।

डेलावरका गभर्नरले घरभित्र मास्क अनिवार्य गर्ने नियम फेब्रुअरी ११ बाट हटाउने भएका छन् । विद्यालयहरुमा मास्क अनिवार्य गर्ने नियम भने मार्च ३१ बाट हटाइने भएको छ । त्यस्तै कनेक्टिकटका गभर्नरले फेब्रुअरी २८ बाट लागु हुनेगरी विद्यालयहरुमा मास्क अनिवार्य नगर्ने भएका छन् । ओरेगनमा विद्यालय र इन्डोर सार्वजनिक स्थलमा मार्च ३१ पछि मास्क अनिवार्य नगरिने भएको छ ।

मंगलबारसम्मको अवस्था हेर्दा अमेरिकामा दैनिक संक्रमणदर औषतमा २ लाख ४० हजार रहेको छ । डिसेम्बरको अन्तिमयताको यो सबैभन्दा कम संक्रमणदर हो । अर्थात् संक्रमणदर डिसेम्बर अन्तिमभन्दा अगाडिकै अवस्थामा पुगेको छ । नयाँ बर्षपछि जनवरीमा अमेरिकामा संक्रमणदर ह्वात्तै बढेको थियो । जनवरी २७ यता दैनिक कोरोना सम्बन्धित मृत्युदर घटेर २६ सयमा झरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com