न्युयोर्कका मेयर एरिक आडम्सले माछा खाएको समाचार किन हेडलाइन बन्यो ?


प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले माछा खाएको समाचार केहीदिनदेखि अमेरिकाका मुलधारका संचारमाध्यमहरुमा हेडलाइन बनिरहेको छ । न्युयोर्क टाइम्सलगायतका संचारमाध्यहरुले यो विषयलाई प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् । कारण के हो भने मेयर आडम्सले यस अगाडि आफू बनस्पतिका उत्पादनमात्रै खाने शुद्ध शाकाहारी रहेको बताउँदै आएका थिए ।

मेयर आडम्सले माछाजन्य खानाहरु खाएको धेरैले बारम्बार देखेपनि उनको कार्यालयले भने उनी शुद्ध शाकाहारी रहेको विषयलाई लगातार प्रचार गर्दै आएको थियो । तर उनले न्युयोर्कको राओज नामको रेष्टुरेण्टमा माछा खाने गरेको सार्वजनिक भएको हो । उनले गतबर्षको जुलाईमा त्यहाँ माछा र सलाद खाएको त्यहाँ काम गर्ने कर्मचारीले पोलिटिकोलाई बताएका थिए । एरिक आडम्सले आफूले बनस्पतिका उत्पादनमात्रै खाने उल्लेख गर्दै भोजन व्यवस्थापनबारे २२४ पेज लामो पुस्तक नै लेखेका थिए ।

उनी सुद्ध शाकाहारी नभएर माछाजन्य पदार्थ खाने पेसटेरियन रहेको खुलासा भएको हो । मेयर आडम्सले यो कुरा स्वीकार गरेका छन् । उनले आफू बनस्पतिका उत्पादनमात्रै खानेहरुका लागि रोलमोडल बन्न चाहेको तर त्यसमा आफू अपूर्ण रहेको बताएका छन् । उनले कहिलेकाँही माछा खाने गरेको बताएका छन् । तर उनले बनस्पतिजन्य उत्पादनले आफ्नो ज्यान बचाएको र शतप्रतिशत बनस्पतिजन्य उत्पादन प्रयोगका लागि आफू प्रेरित रहेको उनले बताए ।

एरिक आडम्सले सन् २०१६ मा दोश्रो प्रकारको मधुमेह भएपछि आफ्नो आहारमा परिवर्तन गरेका थिए । खानामा परिवर्तन गरेकै कारण दृष्टी गुम्दै गएको देब्रे आँखाको ज्योति फर्कन सफल भएको आडम्सले बताउँदै आएका छन् । यसबारे उनले सन् २०२० मा एउटा पुस्तक समेत लेखेका थिए । गत सेप्टेम्बरमा उनले बनस्पतिजन्य उत्पादनमात्र खाने शुद्ध शाकाहारीका रुपमा अन्तरवार्ता समेत दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com