क्यालिफोर्नियाले फेब्रुअरी १५ देखि मास्क अनिवार्य नगर्ने, ४ राज्यले विद्यालयमा मास्क अनिवार्य नगर्ने


प्रकाशित मिति : माघ २४, २०७८ सोमबार

अमेरिकाको क्यालिफोर्नियामा आगामी फेब्रुअरी १५ देखि मास्क अनिवार्यको नियम हटाइने भएको छ । राज्यब्यापीरुपमा मास्क अनिवार्यको नियम हटाउनुका साथै अस्पताल र बृद्धाश्रममा जाँदा कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने नियम पनि हटाइने भएको छ ।

त्यस्तै कनेक्टिकट, न्युजर्सी, डेलावर र ओरेगनले अस्पतालमा मास्क अनिवार्य नगर्ने मिति तय गरेका छन् । न्युजर्सी गभर्नरले मार्च ७ देखि विद्यालयमा मास्क अनिवार्य नगर्ने नीति घोषणा गरेका छन् । कोरोना संक्रमण घटेको, भ्याक्सिन लगाउने दर बढेको र ओमिक्रोन भेरियन्ट कम खतरनाक रहेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरिएको गभर्नर फिल मर्फीले जनाएका छन् ।

डेलावरका गभर्नरले घरभित्र मास्क अनिवार्य गर्ने नियम फेब्रुअरी ११ बाट हटाउने भएका छन् । विद्यालयहरुमा मास्क अनिवार्य गर्ने नियम भने मार्च ३१ बाट हटाइने भएको छ । त्यस्तै कनेक्टिकटका गभर्नरले फेब्रुअरी २८ बाट लागु हुनेगरी विद्यालयहरुमा मास्क अनिवार्य नगर्ने भएका छन् । ओरेगनमा विद्यालय र इन्डोर सार्वजनिक स्थलमा मार्च ३१ पछि मास्क अनिवार्य नगरिने भएको छ ।

न्युजर्सीले मास्क अनिवार्यको नियम हटाउन लागेपछि न्युयोर्कका गभर्नर र न्युयोर्क सिटीका मेयरसमक्ष पनि मास्क अनिवार्यको नियम हटाउने दवाव बढेको छ । न्युयोर्क सिटीमा विद्यार्थीहरुमा कोरोना संक्रमणदर लगभग शुन्यमा झरेको घोषणा गरिएको छ । दैनिक संक्रमणदर न्युयोर्क सिटीका विद्यालयहरुमा १ प्रतिशतभन्दा पनि कम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com