महिलाको यौनाङग काट्ने अफ्रिकन अभ्यास अमेरिकामा समेत, अमेरिकामा ५ लाख जोखिममा


प्रकाशित मिति : माघ २४, २०७८ सोमबार

महिलाको यौनाङग काट्ने अफ्रिकन अभ्यास रोक्न अमेरिकाले आव्हान गरेको छ । महिलाको यौनाङग काट्ने अभ्यासबिरुद्ध शुन्य सहनशीलता अन्तर्राष्ट्रिय दिवसको अवशरमा युएससीआईएसले पनि सरकारका अन्य एजेन्सीहरुप्रति ऐक्यवद्धता जनाउँदै यस्तो अभ्यास अन्त्य गर्न आव्हान गरेको छ ।

महिला यौनाङग विच्छेदन वा कटन भन्नाले मेडिकल कारणविना नै महिलाको यौनाङगको बाहिरी भाग आंशिक वा पूर्णरुपमा काट्ने तथा अन्य घाउचोट पुराउने गतिविधिलाई बुझिन्छ । संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुशार २७ अफ्रिकन देशहरु, इन्डोनेशिया, इराकी कुर्दिस्तान र यमनमा मात्र २० करोड महिलाहरुको आंशिक वा पूर्णरुपमा यौनाङग विच्छेदन वा कटन गरिएको छ ।

केन्यामा महिला यौनाङग विच्छेदन उत्सवका क्रममा

अमेरिकामा समेत यस्तो अभ्यास भइरहेको भन्दै युएससीआईएसले यस्तो अभ्यास रोक्नका लागि जनचेतना जगाइरहेको जनाएको छ । सीडीसीका अनुशार झण्डै ५ लाख महिलाहरु अमेरिकामा यौनाङग विच्छेदन वा कटनको जोखिममा रहेका छन् । अमेरिकामा यस्तो गतिविधि महिलाबिरुद्धको हिंशा, लैंगिक विभेद, बाल दुव्र्यबहार लगायतको मानव अधिकार उल्लंघनको घटना भएको युएससीआईएसको भनाई छ ।

बालिकाहरुमा यौनाङग विच्छेदन वा कटन अमेरिकामा संघीय अपराध हो भने ४० वटा राज्यमा समेत यसलाई अपराधका रुपमा बर्गिकरण गरिएको छ । १८ बर्ष वा त्योभन्दा माथिका महिलामा पनि उनीहरुको सहमति विना यौनाङग विच्छेदन वा कटन गरेमा त्यो अपराध मानिन्छ । यस्तो अपराध गर्ने व्यक्तिलाई जेल सजाय हुनसक्ने र देशनिकालासम्म हुनसक्ने जनाइएको छ ।

युएससीआईएसले यौनाङग विच्छेदन वा कटनपछि बाँचेका वा त्यसको जोखिममा रहेका महिलाहरुका लागि एसाइलम लगायतका अन्य अध्यागमन सुविधा र संरक्षणहरु उपलब्ध गराएको छ । यौनाङग विच्छेदन वा कटन गरिदिने वा सघाउने व्यक्तिलाई अध्यागमन सुविधा नदिने युएससीआईएसको भनाई छ ।

३० भन्दा बढी देशमा ब्लेडको प्रयोग गरेर महिलाको यौनाङगको बाहिरी भाग आंशिक वा पूर्णरुपमा काट्ने परम्परा रहेको छ । जन्मेको केहीदिनपछि बयस्क हुने अवधिभित्र महिला जननांगको भाग काट्ने प्रचलन रहेको छ । यो अभ्यास भएका झण्डै आधा देशमा ५ बर्षको उमेर अगाडि नै काटिएको राष्ट्रिय तथ्यांक रहेको छ । यसको प्रकृया देश र समुह अनुशार फरक फरक रहेको छ ।

महिलाको कामुकतालाई नियन्त्रण गर्ने तथा सुद्धता, बिनम्रता र सौन्दर्य कायम गर्ने नाममा यस्तो अभ्यास गरिदै आएको छ । यसो गर्दा बारम्बार संक्रमण हुने, पिसाव फेर्न र महिनावारीको बेलामा कठिन हुने, गर्भवती हुन नसक्ने, बच्चा जन्माउने क्रममा जटिलता हुने र घातक रक्तश्राव हुनेजस्ता साइड इफेक्टहरु हुने गरेका छन् । यसबाट कुनै स्वास्थ्य फाइदा भने छैन ।

अधिकांशले घरमै कैची, ब्लेड, चक्कु, सिसा, धारिलो ढुंगा र हातको नंगले समेत काट्ने गरेको पाइन्छ । निर्मलीकरण नगरिएको हतियारबाट काट्ने र एउटै हतियारले दर्जनौंको काट्ने समेत गरेको पाइन्छ । प्राय घरमा रहेका बृद्धा महिलाले यो काम गर्छन् । कतिपय देशमा यस्तो काममा स्वास्थ्यकर्मीहरु पनि संलग्न हुने गरेका छन् । काटेको टुक्रा पोको पारेर महिलालाई धारण गर्न समेत दिने चलन रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com