युक्रेन तनाव : रुसलाई चीनको समर्थन,निशानामा नाटो-अमेरिका


प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार

युक्रेनसँग जारी तनावका बीच चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  शुक्रबार (आज) भेटवार्ता गरेका छन् ।

युक्रेनसँग जारी तनावको मुद्दा चर्किरहेको बेला पुटिन शीतकालीन ओलम्पिकमा सहभागी हुन बेइजिङ पुगेका छन् । बेइजिङ भ्रमणका क्रममा पुटिनले चीनसँगको घनिष्ठ सम्बन्धको प्रशंसा गरेका थिए।

चीन र रुस यस्तो समयमा नजिक आउँदैछन् जब दुवै अमेरिका र नाटो देशहरु संग तनाव बढेको छ। युक्रेन संकटको बीचमा भएको यो बैठकपछि जारी गरिएको दुई देशको संयुक्त वक्तव्यले पश्चिमा मुलुकलाई स्पष्ट संकेत दिने प्रयास गरेको छ । पश्चिमी सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा चीनले रुसलाई साथ दिएको छ ।

दुई नेताको भेटपछि संयुक्त विज्ञप्ति जारी गरी दुवै देशले नेटो विस्तारको विरोध गरेका छन् । योसँगै नेटोले आफ्नो वैचारिक शीतयुद्धको दृष्टिकोणलाई पछाडि छोडेर अन्य देशको सार्वभौमसत्ता, सुरक्षा र हितको सम्मान गर्नुपर्ने पनि बताएको छ ।

विदेश नीतिमा चीन र रुस दुवैले एकअर्कालाई सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । यसबाहेक दुवै देशले एसिया प्यासिफिक क्षेत्रमा सैन्य वा अन्य कुनै गठबन्धनको विरोध गरेको पनि बताएका छन् ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार चीन र रुस दुवैले लोकतन्त्रलाई सीमित देशको विशेषाधिकारको सट्टा विश्वव्यापी मानवीय मूल्य हो भन्ने विश्वास गर्छन्। आफ्नो देश लोकतान्त्रिक हो कि होइन भन्ने कुरा राष्ट्रका जनताले तय गर्ने कुरा हो ।

कतिपय देशको सुविधाअनुसार विशेष गठबन्धन बनाएर, विचारधाराका आधारमा रेखा कोरेर आफ्नो लोकतान्त्रिक मापदण्ड अरूमाथि थोपाउन खोज्नु भनेको लोकतन्त्रलाई ध्वस्त पार्नुबाहेक केही होइन । यो लोकतन्त्रको भावना र वास्तविक मूल्यमान्यता विरुद्ध जान्छ।

नाटोको विरुद्धमा चीनले रुसलाई समर्थन गरेको भए पनि रुसको तर्फबाट ताइवानलाई लिएर चीनको अडानलाई समर्थन गर्ने र यसको स्वतन्त्रताको विरोध गरेको भनिएको छ । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com