भर्जिनियाको कलेजमा गोली प्रहारबाट २ सुरक्षा अधिकारीको मृत्यु, बन्दुकधारी नियन्त्रणमा


प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार

अमेरिकाको भर्जिनियामा रहेको ब्रिजवाटर कलेजमा बन्दुकधारीले गोली चलाउँदा २ जना सुरक्षा अधिकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना क्याम्पस प्रहरी अधिकारी रहेका छन् भने अर्का क्याम्पस सुरक्षा अधिकारी रहेका छन् ।

बन्दुकधारीलाई हिराशतमा लिइएको छ भने अनुसन्धान भइरहेको जनाइएको छ । घटना मंगलबार दिउसो भएको हो । कलेजका अध्यक्ष डेभिड बुसम्यानले घटनालाई अकल्पनीय त्रासदी भनेका छन् ।

घटनामा क्याम्पस प्रहरी अधिकारी जोन पेन्टर र क्याम्पस सुरक्षा अधिकारी जेजे जेफर्सनको मृत्यु भएको हो । दिउसो १ बजेर २० मिनेट जाँदा क्याम्पसमा सकृय बन्दुकधारी रहेको खबर प्रहरीले पाएको थियो ।

सुरुमा दुईजनालाई गोली हानेपछि बन्दुकधारी फरार रहेको थियो । तर पछि राज्य र स्थानीय सुरक्षाकर्मीहरुले खोजतलासपछि बन्दुकधारीलाई पक्राउ गर्न सफल भए ।

मंगलबार नै मिनेसोटाको रिचफिल्डमा विद्यालयमा गोली चल्दा एकजना विद्यार्थीको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए । दिउसो १२ बजे लगत्तै साउथ एजुकेशन सेन्टरमा गोली चलेको थियो ।

लगत्तै प्रहरी अधिकारीहरु घटनास्थलमा आउँदा विद्यालय बाहिरपट्टीको बाटोमा २ जना विद्यार्थी गोली लागेर ढलेका थिए । बन्दुकधारी घटनालगत्तै फरार रहेको जनाइएको छ । घाइते विद्यार्थीको अवस्था गम्भिर रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com