नर्थ क्यारोलिनामा भीषण आगलागी, अमोनियम नाइट्रेट विष्फोटको खतरा, ६ हजार जोखिममा


प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार

अमेरिकाको नर्थ क्यारोलिनाको विन्स्टन सालेममा रहेको फर्टिलाइजर प्लान्टमा भएको भीषण आगलागीपछि त्यसक्षेत्रमा रहेका ६ हजार बासिन्दा जोखिममा परेका छन् ।  वेक फरेष्ट युनिभर्सिटीका विद्यार्थीहरु र नजिकको जेलमा रहेका २ सय जना कैदीहरु  पनि जोखिममा परेका छन् ।

विन्स्टन विभर को प्लान्टमा रहेको अमोनियम नाइट्रेट विष्फोटको खतराका कारण मुख्य चासो देखाइएको छ । अधिकारीहरुले आगलागी भएको क्षेत्रको एकमाइल आसपासका २५ सयभन्दा धेरै घरहरु खाली गराउने प्रयास गरेका छन् ।

खाली गराइने क्षेत्रको हरेक बाटोमा फायर ट्रकहरु पठाइएको छ भने घरघरमा उद्दारकर्मीहरु पुगेका छन् । हावाको गुणस्तरबाट चेतावनी दिइएको छ भने कुनै आपतकालिन अवस्था आएमा ९११ मा फोन गर्न भनिएको छ ।

प्लान्टमा सोमबार रातीदेखि आगलागी सुरु भएको हो । झण्डै २ घण्टासम्म अग्नी नियन्त्रकहरुले आगलागी नियन्त्रणको प्रयास गरेपनि आगो अमोनियम नाइटे्रट भएतिर अगाडि बढेपछि अग्नी नियन्त्रकहरु पछाडि हटेका छन् । अहिले पनि आगलागी सकृय रहेको र विष्फोटको खतरा रहेको जनाइएको छ ।

आगो निभाउन भवनको पछाडिको भागमा फायर ट्रक राखिएको छ । तर त्यहाँ अग्नी नियन्त्रकहरु भने छैनन् । प्रत्येक १५ देखि २० मिनेटमा ड्रोन प्रयोग गरेर घटनास्थलको जाँच भइरहेको छ ।

अधिकारीहरूले रातारात करिब २२० कैदीहरूलाई अर्को जेलमा सारेका छन् । वेक फरेष्ट युनिभर्सिटीले मंगलबारका कक्षाहरु रद्द गरेको छ । क्याम्पसमा बस्ने र एकमाइलको आसपासमा बस्ने विद्यार्थीहरुलाई घरभित्रै बस्न सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com