टेक्सासको जेलमा कैदीबीच भीडन्त, २ को मृत्यु, हिंशा फैलिने त्रासले अमेरिकाभरका जेल लकडाउन


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

टेक्सासको संघीय जेलमा एक गिरोहको झडपमा सोमबार दुई कैदीको मृत्यु र दुई जना घाइते भएपछि संघीय जेल प्रणालीमा राष्ट्रव्यापी लकडाउन गरिएको छ । घटना सोमबार बिहान साढे ११ बजे टेक्सासको ब्युमन्टमा रहेको संघीय जेल युएसपी ब्युमन्टमा भएको हो।

झडपमा हिंसात्मक एमएस १३ गिरोहका सदस्यहरू संलग्न रहेको जनाइएको छ । यो घटना अमेरिकाको संघीय जेल भित्रको गम्भीर हिंसाको पछिल्लो उदाहरण हो। संघीय जेल प्रणालीले हालका वर्षहरूमा व्यापक कर्मचारी अभाव, गम्भीर कर्मचारी दुर्व्यवहार, भाग्ने र मृत्युको श्रृंखला सहित धेरै सङ्कटहरूको सामना गरेको छ ।

अन्य जेलहरुमा समेत हिंशा फैलिनसक्ने त्रासका कारण १२० भन्दा बढी संघीय कारागारहरूमा लकडाउन गरिएको हो । लकडाउनको बेलामा कैदीहरूलाई दिनको अधिकांश समय तिनीहरूको सेलमा राखिन्छ भने भेटघाट रद्द गरिन्छ। कोरोना संक्रमणका कारण प्राय सबै संघीय कारागारहरूमा भ्रमणहरू पहिले नै रद्द गरिएको थियो ।

अमेरिकाका कारागारमा राष्ट्रव्यापी लकडाउनको घटना दुर्लभ हो । कारागारहरुमा कोरोना तीब्र रुपमा फैलिन थालेपनि सन् २०२० को अप्रिलमा यस्तै लकडाउन गरिएको थियो । त्यस्तै सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिल दंगाको समयमा पनि लकडाउन गरिएको थियो । त्यस्तै राष्ट्रपति जो बाइडेनले सपथ लिनुभन्दा केही अगाडि पनि यस्तै लकडाउन लागु गरिएको थियो ।

सोमबार टेक्सास जेलका अधिकारीहरूले धेरै कैदीहरूलाई लडिरहेको देखेका थिए र उक्त क्षेत्र सुरक्षित गर्न प्रयास गरेका थिए ।
दुई कैदीहरू ३४ बर्षीय एन्ड्रयू पिनेडा र ५४ बर्षीय गुइलेर्मो रियोजसलाई आक्रमण पछि स्थानीय अस्पतालमा मृत घोषित गरिएको थियो। अन्य दुई कैदी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।

पछिल्ला केही महिनाहरूमा संघीय कारागार भित्र धेरै कैदीहरूको मृत्यु र छुरा प्रहारका घटनासहित थुप्रै गम्भीर सुरक्षा समस्याहरू देखिएका छन् । हालैका वर्षहरूमा ब्युमन्टको जेल परिसरबाट धेरै कैदीहरू भागेका छन् । जेलमा गम्भीर कर्मचारी संकटका कारण समस्या उत्पन्न भएको जनाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com