ओकल्याण्ड युनिभर्सिटीले ५५ सयलाई पठाएको छात्रबृत्ति इमेल ‘मानवीय त्रुटी’, मिसिगन युनिभर्सिटीले क्षतिपूर्ति दिने


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

अमेरिकाको मिसिगनमा रहेको ओकल्याण्ड युनिभर्सिटीले ५५ सय जना विद्यार्थीहरुलाई गल्तीले झण्डै ४८ हजारका दरले स्कलरसिप प्राप्त गरेको भन्दै इमेल पठाएपछि हंगामा भएको छ । स्कलरसिपको इमेल पठाएको २ घण्टामै गल्तीले इमेल गएको भन्दै विद्यार्थीहरुलाई सच्याइएको अर्को इमेल पठाइएको थियो ।

विद्यार्थीहरुलाई कडा मिहिनेत गरेकाले त्यसको फल प्राप्त भएको भन्दै बधाई सन्देश सहितको इमेल पठाइएको थियो । जसमा ४ बर्षका लागि ४८ हजार डलरको स्कलरसिप जितेको उल्लेख गरिएको थियो । तर पछि सच्याइएको इमेलमा प्लाटिनम प्रेसिडेण्ट स्कलरसिप अवार्ड नजितेको र दुभाग्यवश त्रुटीले इमेल पठाइएको उल्लेख गरिएको थियो ।

अउवर्न हिल्स र रोचेस्टर हिल्समा दुईवटा क्याम्पस रहेको ओकल्याण्ड युनिभर्सिटीले मानवीय भूलवश यसरी इमेल पठाइएको बताएको छ । विद्यार्थीहरुले ४ बर्षमा लगभग ५८ हजार डलर ट्युशन शुल्क तिर्ने तथा कोठा लगायतका अन्यमा झण्डै बार्षिक ११ हजार १९२ डलर खर्च हुने युनिभर्सिटीले जनाएको छ । युनिभर्सिटीका प्रवक्ताले यसरी इमेल पाएका ५५ सयले स्कलरसिपका लागि मापदण्ड पूरा नगर्ने जनाएका छन् ।

यो अवार्डका लागि योग्य हुन विद्यार्थीहरुको हाइस्कुलको ग्रेड कम्तीमा ३ दशमलव ९ प्वाइन्ट हुनुपर्छ र स्याटमा १४५० वा त्योभन्दा बढी स्कोर ल्याउएको हुनुपर्छ । एक्ट पूरा गरेकाहरुले कम्तीमा ३३ ल्याएको हुनुपर्छ । यो महिनासम्म १६२ जना विद्यार्थीहरुले उक्त स्कलरसिपका लागि योग्यताका मापदण्ड पूरा गरेको र ६२ जनामात्र छानिएको युनिभर्सिटीको भनाई छ ।

ओकल्याण्ड युनिभर्सिटीमा यस्तो गल्ती अमेरिकाको अर्को युनिभर्सिटीले पनि स्कलरसिप पठाएको भन्दै गल्तीले इमेल पठाएको केही अगाडि भएको थियो । सेन्ट्रल मिसिगन युनिभर्सिटीले पनि यसै महिना ५८ जना हाइस्कुल सिनियर विद्यार्थीहरुलाई इमेल गर्दै ट्युसन, कोठा र भर्नालाई समेट्ने गरी बार्षिक २८ हजार डलरको स्कलरसिप जितेको इमेल पठाएको थियो । साथै विदेशमा पढ्नका लागि थप ५ हजार डलरको स्कलरसिप दिइएको इमेलमा उल्लेख थियो । तर केही दिनपछि ती विद्यार्थीहरुलाई स्कलरसिप नपाएको र गल्तीले त्यस्तो इमेल गएको जानकारी दिइएको थियो ।

गल्तीले इमेल पाएका विद्यार्थीहरुलाई ४ बर्षको ट्युशन शुल्क बार्षिक १२ हजार ५ सय डलर निशुल्क गरिदिने युनिभर्सिटीले घोषणा गरेको छ । तर अन्य सुविधा भने दिइनेछैन । गल्तीका लागि जिम्मेबार भर्ना निर्देशकलाई निष्काशन गरिएको छ ।

सेन्ट्रल मिसिगन युनिभर्सिटीले यस्तो क्षतिपूर्ति दिने घोषणा गरेपछि ओकल्याण्ड युनिभर्सिटीबाट गल्तीले इमेल पाएकाहरुले पनि केही सुविधाको आशा राखेका छन् । तर ५८ जनालाई छुट दिनु र ५५ सयलाई छुट दिनु समान नभएकाले ओकल्याण्ड युनिभर्सिटीले अहिलेसम्म केही छुट घोषणा गरेको छैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com