धुलाम्मे ट्राफिक प्रहरी


प्रकाशित मिति : ३१ जेष्ठ २०७४, बुधबार

जेष्ठ ३१, २०७४- सातदोबाटो चोक । बिहान ९ देखि राति ९ बजेसम्म धुलाम्मे । कारण कंलकी–कोटेश्वर सडक विस्तार र मेलम्ची खानेपानीले पाइप बिछयाउन खनेको खाल्डो । त्यही धूलोमा दोलखाका कृष्णप्रसाद ओलीको डयुटी बिहान साढे १० बजेबाट सुरु हुन्छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो कार्यालयबाट निस्कँदा ट्राफिक प्रहरी ओली चिटिक्क परेर निस्कछन् । सडकमा दिनभर उभिँदा बेलुकासम्म उनी धुलाम्मे भइसक्छन् । ओली भन्छन्, ‘दिनभर धूलोमा बस्दा खाना नरुच्ने समस्या हुँदो रहेछ । बेलुका छाती दुख्छ ।’ तर पनि कामप्रति उनी सन्तुष्ट छन् । भन्छन्, ‘राज्यको प्रतिनिधि भएर काम गरिसकेपछि जुनसुकै परिस्थितिमा पनि हिम्मतका साथ मन लगाएर गर्नुपर्छ ।’

पहिला साताको दुईपटक लुगा धुने नुहाउने र डयुटीबाट कार्यालय पुग्नेबित्तिकै आराम गर्ने उनको दैनिकी अहिले फेरिएको छ । कार्यालय पुग्नेबित्तिकै सुरुमा लुगा धुने र नुहाउने । सातदोबाटोमा भेट्दा उनले लगाएका कपडा धूलोले छोपिएको थियो । टोपी पनि उस्तै ।

सातादोबाटो परिसरका ट्राफिक सिपाही नरेन्द्रसिंह विष्टसँग ४ जोर पोसाक छन् । जाडोमा लगाउने ऊनी र गर्मीमा लगाउने सुती गरी २/२ जोर । कपडा धुलाम्मे भए पनि पानी अभावले दैनिक धुन समस्या रहेको उनको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘धुलै कपडा लगाउनु पर्दा थकाइ अनुभव हुन्छ,’ उनले भने, ‘मुखमा लगाउने मास्क पनि गतिलो छैन ।’ उनले दैनिक लुगा धुनु पर्दा समयसँगै पैसा पनि खर्च हुने बताए । ‘विदेशतिर जस्तै सिटी बजाउन मिल्ने मास्क भए धूलो मुखमा जान जोगिन्थ्यो,’ उनले भने, ‘एकपटक मेडिकलमा जाँच गराउँदा ५ सयदेखि हजार रुपैयाँसम्म खर्च हुन्छ ।’
सातदोबाटो परिसरमा भेटिएका सई टंकप्रसाद शिवाकोटीको अनुहार फुस्रो देखिन्थ्यो । उनी खाटमा आराम गर्दै थिए । शिवाकोटीले भने, ‘निरन्तर धूवाँधूलोमा बस्नु पर्दा आँखा पोल्ने समस्या, प्रेसर बढ्ने र एलर्जी भएको छ ।’ उनले सरसफाइ र खानेपानीमा ध्यान नदिए त सिकिस्तै बिरामी पर्ने बताए ।

यी सबै उपत्यकामा ट्राफिक प्रहरीले भोगेका सास्ती हुन् । उनीहरू जस्तै धूवाँधूलोमा दैनिक डयुटी गर्ने ट्राफिक प्रहरीको संख्या धेरै छ । अत्यधिक धूवाँधूलोको समस्या ट्राफिक प्रहरीहरूले केही दिनदेखि मात्र व्यहोरेका भने होइनन् ।

विगत २ वर्षदेखि बेहोरिरहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले मासिक रूपमा स्वास्थ्य चेकजाँच गराइरहेको बताए । ‘सरकारले जोखिम मोलेर काम गरेका ट्राफिकहरूको बिमा गरिदिएको भए थप जाँगर आउँथ्यो,’ उनले भने, ‘धुवाँधूलोको असर युवा अवस्थामा भन्दा वृद्धमा देखापर्छ ।’

महाशाखाका अनुसार आव ०७२/७३ सम्म उपत्यकामा १ हजार ८५ ट्राफिक प्रहरी कार्यरत छन् । उपत्यकाको सडकको लम्बाइ १५ सय ९४ किमि छ । २०७३ असारसम्म वाग्मती अञ्चलमा मात्रै ९ लाख २२ हजार ९ सय सवारी साधान दर्ता भएका छन् । एक ट्राफिक प्रहरीले ८५० सवारी साधन र १.४६ किमि सडक व्यवस्थापन गर्नुपर्छ । भने १ ट्राफिक एकाइले ४५.५६ किमि सडक व्यवस्थापन गर्नुपर्छ ।

Source : Ekantipur

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com