धुलाम्मे ट्राफिक प्रहरी


प्रकाशित मिति : जेष्ठ ३१, २०७४ बुधबार

जेष्ठ ३१, २०७४- सातदोबाटो चोक । बिहान ९ देखि राति ९ बजेसम्म धुलाम्मे । कारण कंलकी–कोटेश्वर सडक विस्तार र मेलम्ची खानेपानीले पाइप बिछयाउन खनेको खाल्डो । त्यही धूलोमा दोलखाका कृष्णप्रसाद ओलीको डयुटी बिहान साढे १० बजेबाट सुरु हुन्छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो कार्यालयबाट निस्कँदा ट्राफिक प्रहरी ओली चिटिक्क परेर निस्कछन् । सडकमा दिनभर उभिँदा बेलुकासम्म उनी धुलाम्मे भइसक्छन् । ओली भन्छन्, ‘दिनभर धूलोमा बस्दा खाना नरुच्ने समस्या हुँदो रहेछ । बेलुका छाती दुख्छ ।’ तर पनि कामप्रति उनी सन्तुष्ट छन् । भन्छन्, ‘राज्यको प्रतिनिधि भएर काम गरिसकेपछि जुनसुकै परिस्थितिमा पनि हिम्मतका साथ मन लगाएर गर्नुपर्छ ।’

पहिला साताको दुईपटक लुगा धुने नुहाउने र डयुटीबाट कार्यालय पुग्नेबित्तिकै आराम गर्ने उनको दैनिकी अहिले फेरिएको छ । कार्यालय पुग्नेबित्तिकै सुरुमा लुगा धुने र नुहाउने । सातदोबाटोमा भेट्दा उनले लगाएका कपडा धूलोले छोपिएको थियो । टोपी पनि उस्तै ।

सातादोबाटो परिसरका ट्राफिक सिपाही नरेन्द्रसिंह विष्टसँग ४ जोर पोसाक छन् । जाडोमा लगाउने ऊनी र गर्मीमा लगाउने सुती गरी २/२ जोर । कपडा धुलाम्मे भए पनि पानी अभावले दैनिक धुन समस्या रहेको उनको भनाइ छ ।

‘धुलै कपडा लगाउनु पर्दा थकाइ अनुभव हुन्छ,’ उनले भने, ‘मुखमा लगाउने मास्क पनि गतिलो छैन ।’ उनले दैनिक लुगा धुनु पर्दा समयसँगै पैसा पनि खर्च हुने बताए । ‘विदेशतिर जस्तै सिटी बजाउन मिल्ने मास्क भए धूलो मुखमा जान जोगिन्थ्यो,’ उनले भने, ‘एकपटक मेडिकलमा जाँच गराउँदा ५ सयदेखि हजार रुपैयाँसम्म खर्च हुन्छ ।’
सातदोबाटो परिसरमा भेटिएका सई टंकप्रसाद शिवाकोटीको अनुहार फुस्रो देखिन्थ्यो । उनी खाटमा आराम गर्दै थिए । शिवाकोटीले भने, ‘निरन्तर धूवाँधूलोमा बस्नु पर्दा आँखा पोल्ने समस्या, प्रेसर बढ्ने र एलर्जी भएको छ ।’ उनले सरसफाइ र खानेपानीमा ध्यान नदिए त सिकिस्तै बिरामी पर्ने बताए ।

यी सबै उपत्यकामा ट्राफिक प्रहरीले भोगेका सास्ती हुन् । उनीहरू जस्तै धूवाँधूलोमा दैनिक डयुटी गर्ने ट्राफिक प्रहरीको संख्या धेरै छ । अत्यधिक धूवाँधूलोको समस्या ट्राफिक प्रहरीहरूले केही दिनदेखि मात्र व्यहोरेका भने होइनन् ।

विगत २ वर्षदेखि बेहोरिरहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले मासिक रूपमा स्वास्थ्य चेकजाँच गराइरहेको बताए । ‘सरकारले जोखिम मोलेर काम गरेका ट्राफिकहरूको बिमा गरिदिएको भए थप जाँगर आउँथ्यो,’ उनले भने, ‘धुवाँधूलोको असर युवा अवस्थामा भन्दा वृद्धमा देखापर्छ ।’

महाशाखाका अनुसार आव ०७२/७३ सम्म उपत्यकामा १ हजार ८५ ट्राफिक प्रहरी कार्यरत छन् । उपत्यकाको सडकको लम्बाइ १५ सय ९४ किमि छ । २०७३ असारसम्म वाग्मती अञ्चलमा मात्रै ९ लाख २२ हजार ९ सय सवारी साधान दर्ता भएका छन् । एक ट्राफिक प्रहरीले ८५० सवारी साधन र १.४६ किमि सडक व्यवस्थापन गर्नुपर्छ । भने १ ट्राफिक एकाइले ४५.५६ किमि सडक व्यवस्थापन गर्नुपर्छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com