न्युयोर्कमा शनिबार खराब मौषम र १२ इन्चसम्म हिमपातको चेतावनी, के के बन्द हुँदैछ ?


प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार

न्युयोर्कमा शुक्रबार बेलुका ७ बजेदेखि शनिबार बेलुका ७ बजेसम्म खराब मौषमको चेतावनी दिइएको छ । शनिबार १२ इन्चसम्म हिमपात हुने र ४५ माइल प्रतिघण्टाको बेगले हावाचल्ने राष्ट्रिय मौषम सेवाले चेतावनी दिएको छ ।

उत्तरपूर्वी न्युजर्सी, दक्षिणी कनेक्टिकट र दक्षिणपूर्व न्युयोर्कमा सबैभन्दा खराब मौषमको चेतावनी दिइएको छ । शनिबार सार्वजनिक यातायात सेवा प्रभावित हुनेछ तर बाटोको अवस्था खराब हुने भएकाले न्युयोर्कबासीलाई सकभर आफ्नो गाडीको साटो सार्वजनिक यातायात प्रयोग गर्न सुझाव दिइएको छ ।

स्टेटन आइल्याण्डको फेरी सेन्ट जर्ज टर्मिनलबाट शुक्रबार राती ११ बजेदेखि शनिबार विहान ७ बजेसम्म हरेक घण्टामात्र संचालन हुनेछ भने ह्वाइटहलबाट हरेक आधाघण्टामा संचालन हुनेछ । न्युयोर्क सिटीमा सिटीबाट संचालित कोरोना परीक्षण र भ्याक्सिन केन्द्रहरु शनिबार बन्द हुनेछन् ।

मेट्रो नर्थ रेलरोडले शनिबार कैयन स्थानमा सेवा संचालन नगर्ने जनाइएको छ । केही स्थानमा हरेक घण्टामात्र चल्नेछ । त्यस्तै न्युजर्सी ट्रान्जिटले शनिबारका लागि सबै बससेवा बन्द गर्नेछ । स्थीति राम्रो भएको खण्डमा बेलुकातिर बससेवा संचालन हुनसक्ने जनाइएको छ ।

शनिबार आफ्नो गाडीमा यात्रा गर्नैपर्ने भएमा अतिरिक्त फ्लासलाइट, खाना र पानी गाडीमा राख्न सुझाव दिइएको छ । न्युयोर्कसिटीमा अल्टरनेट साइड पार्किङ भोलिदेखि फेबु्रअरी १ सम्मका लागि खारेज गरिएको छ । मिटर पार्किङ भने संचालनमा रहने जनाइएको छ ।

शीतकालिन आँधी विकशित भएर बम साइक्लोन बन्नसक्ने चेतावनी समेत दिइएको छ । २० घण्टाको अवधिमा आँधीको मध्य चाप २४ मिलिबार वा त्योभन्दा बढीमा दुर्घटनाग्रस्त हुन्छ, त्यसलाई बम साइक्लोन भनिन्छ ।

राष्ट्रिय मौषम सेवाले सप्ताहन्तमा कैयन क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न हुने चेतावनी समेत दिएको छ । हिउँ सोहोर्ने बेल्चाहरुको जोहो गर्न र गाडीमा तेल ट्यांकहरु भर्न सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com