ओमिक्रोनको दोश्रो भर्सन एसिया र युरोपपछि अमेरिकामा फैलिदै, यो भर्सनबारे हामीलाई के थाहा छ ?


प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार

कोरोनाको ओमिक्रोन भेरियन्टको दोश्रो भर्सन फैलिदो अवस्थामा रहेकोप्रति वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । एसिया र युरोपका भागहरुमा तीब्र रुपमा फैलिएको ओमिक्रोन बीए टु अमेरिकाको टेक्सास, क्यालिफोर्निया र वासिंटनमा पनि भेटिएको छ ।

अमेरिकामा यो भर्सन अहिलेसम्म तीब्र रुपमा फैलिसकेको भने छैन । तर अर्को महिनासम्म अमेरिकाभर फैलिनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । पहिलो भर्सनका तुलनामा ओमिक्रोनको दोश्रो भर्सन अझ धेरै संक्रामक भएको प्रमाणहरु बढीरहेका छन् ।

युनिभर्सिटी अफ बर्नकी प्रोफेसर तथा सरुवा रोग विशेषज्ञ एमा होडकाफ्टले पहिलो भर्सनको तुलनामा दोश्रो भर्सन १ देखि ३ प्रतिशत बढी संक्रामक हुनसक्ने बताएकी छिन् । जसका कारण अमेरिकामा ओमिक्रोनको प्रभाव अझ बढ्नसक्नेबारे चिन्ता व्यक्त गरिएको छ ।

नयाँ भर्सनलाई सरुवा रोग विशेषज्ञ होडकाफ्टले दाजुभाईको संज्ञा दिएकी छिन् । दुबै भर्सन कैयन मामलामा उस्तै उस्तै भएपनि दुरुस्तै भने नभएको र केही फरकहरु रहेको उनको भनाई छ । गत नोभेम्बरमा पनि दक्षिण अफ्रिका र बोत्सवनामा ओमिक्रोनको भेरियन्ट फेला पार्दा वैज्ञानिकहरुले एउटामात्र पारेका थिएनन्, तीनवटा पारेका थिए ।

बेलायतको लण्डन ब्रीजमा हिड्दै कामदारहरु । एपी फोटो/म्याट दुनाम

पहिलो ओमिक्रोन बीए वान विश्वमा तीब्र गतिमा फैलियो । सुरुमा अरु दुईवटा भर्सनहरु बीए टु र बीए थ्री पहिलोको तुलनामा केही कमजोर रहेकोजस्तो देखिएको थियो । तर अहिले विश्वका कैयन भागमा बीए टु अझ संक्रामक रुपमा फैलिएको छ । डेनमार्कमा डिसेम्बरमा पहिलो भर्सन उच्च बिन्दुमा पुगेको थियो तर जब पहिलो भर्सन कम हुँदै गयो, अहिले दोश्रो भर्सन उच्च बिन्दुमा पुगेको छ । केहीसातामा नै डेनमार्कमा दोश्रो भर्सनले कब्जा जमाएको छ भने महामारी लम्बिएको छ ।

डेनमार्कमा हरेक दिन ४० हजारको हाराहारीमा संक्रमित पुष्टी भइरहेका छन् । जनवरीको दोश्रो साता नै ५० प्रतिशत भन्दा धेरैमा दोश्रो भर्सन देखिएको थियो । दोश्रो भर्सन इंग्ल्याण्ड र जर्मनीमा पनि फैलिएको पाइएको छ । दुबै देशमा कम्तीमा ५ प्रतिशत संक्रमितमा दोश्रो भर्सन देखिएको छ । पछिल्ला तथ्यांकहरुले पहिलोको तुलनामा दोश्रो अझ संक्रामक रहेको पाइएको छ ।

कोरोना महामारीका बीच भारतको दैनिक जनजीवन । एपी फोटो /चन्नी आनन्द

डेल्टा लगायतका अगाडिका भेरियन्टको तुलनामा ओमिक्रोन कम खतरनाक पाइएको छ । सिकिस्त हुने र मृत्यु हुने दर पनि कम रहेको छ । ओमिक्रोनको पहिलो भर्सनको तुलनामा दोश्रो भर्सन यो मामलामा बढी खतरनाक देखिएको छैन । बरु उस्तै उस्तै देखिएको छ । अहिलेसम्मको तथ्यांक हेर्दा पहिलो भर्सन र दोश्रो भर्सनबाट सिकिस्त हुने दर उस्तै उस्तै रहेको छ ।

बुस्टर डोजले ओमिक्रोनको पहिलो भर्सनबिरुद्ध जुन स्तरको संरक्षण दिएको छ, दोश्रो भर्सनबिरुद्ध पनि उही स्तरकै संरक्षण दिएको बेलायती सरकारको तथ्यांकले देखाएको छ । दोश्रो भर्सनका सन्दर्भमा पनि बुस्टर लगाएकाहरुमा लक्षणसहितको कोरोना संक्रमण हुनमा ६० देखि ७० प्रतिशत संरक्षण प्राप्त भएको छ ।

कभरमा ओमिक्रोन भेरियन्टको कम्प्युटर जेनेरेटेड तस्वीर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com