एक्लै विमान उडाएर पुरै विश्व घुमेकी १९ वर्षीय पाइलटको चुनौतीपूर्ण यात्रा कथा


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

एक्लै विमान उडाएर १९ वर्षकी एक महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै, पुरै विश्व घुमेकी छिन् । यसरी विश्वको यात्रा गर्ने उनी सबैभन्दा कान्छी महिला बनेकी छिन् । उनी हुन जारा रदरफोर्ड ।  जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समय भन्दा दुई महिनापछि आफ्नो यात्रा पुरा गरेकी हुन् ।

उनको विमान आफ्नो लक्ष्य पुरा गरेर बेल्जियमको कान्ट्रिज्कम भेभेलगेम अन्तर्राष्ट्रिय विमान स्थलमा पुग्न सफल भएको छ ।
सुपरलाईट विमानबाट पुरा गरिएको यो यात्रामा उनी एक महिनासम्म अलास्काको नोममा र ४१ दिन सम्म रुसको अयानमा फसेकी थिइन् । आँधीका कारण उनी कोलम्बियामा पनि रोकिएकी थिइन् ।


बेल्जियम फर्किएपछि उनको परिवार, पत्रकार र समर्थकले उनलाई विमानस्थलमै भब्य स्वागत गरेका थिए । उनको विमानका साथै बेल्जियमको रेड डेभिल्स एरोब्याटिक डिस्प्ले टोलीका ४ विमान पनि त्यहाँ अवतरण भए । विमानबाट ओर्लिएपछि उनले स्वयंलाई बेलायत र बेल्जियमको झण्डामा बेह्रेकी थिइन् ।

पत्रकारसँग उनले भनिन्, ‘यो अनुभव पागल बनाउने किसिमको थियो । मलाई विश्वास नै लागिरहेको छैन ।’ ५१ हजार किलोमिटर विमान उडाउने चुनौती पुरा गरेर आफू व्यापक खुसी भएको छु ।’

आफ्नो यात्राबारे जानकारी दिँदै उनले भनिन्, ‘भ्रमणका बेला सबैभन्दा गाह्रो साइबेरियामा भएको थियो । त्यहाँ असाध्यै चिसो थियो । त्यहाँ यदि इञ्जिन बन्द भएको भए बाँच्न धेरै नै कठिन हुने थियो । म मानिसलाई आफ्नो अनुभव बताउन चाहन्छु । साथै, मानिसहरुलाई रोमाञ्चक काम गर्नका लागि प्रोत्साहित गर्न म चाहन्छु ।’ जाराले थपिन्, ‘तपाईंसँग मौका छ भने यस्तो पक्कै पनि गर्नुहोस् ।’

अघिल्लो वर्ष १८ अगस्टमा सुरु भएको आफ्नो यात्रामा उनले पाँच महाद्वीपका ६० भन्दा बढी स्थानमा पाइला टेकिन् ।

ब्रिटिश बेल्जियम पृष्ठभूमिकी जारा रदरफोर्डका आमाबुवा दुबै पाइलट हुन् । उनका अनुसार उनी अन्य महिलालाई एसटीईएम (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र गणित)को क्षेत्रमा अघि बढ्नका लागि प्रोत्साहित गर्न चाहने उनले बताइन् । बीबीसीबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com