मध्य एशियामा ब्ल्याक आउट, घण्टौँ ट्राफिक जाम र हवाई सेवा अवरुद्ध


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

मध्य एशियाका तीन देशका केही शहरमा मंगलबार घण्टौँसम्म विद्युत आपूर्तिमा समस्या रहेको छ । लाखौँ मानिस घण्टौँसम्म बिजुली बिना रहनुपर्यो ।

किर्गिस्तान, उज्बेकिस्तान र कजाकिस्तानका थुप्रै इलाकामा घण्टौँसम्म बिजुली आपूर्तिमा समस्या रह्यो । एउटा साझा पावर लाइन काटिएका कारण मानिसहरुले यस्तो समस्या भोग्नुपरेको हो ।

घण्टौँसम्म बिजुली आपूर्ति नहुँदा यी देशमा लामो ट्राफिक जाम भयो, हवाई सेवामा बाधा उत्पन्न भयो र सार्वजनिक यातायात सेवामा पनि व्यापक असर पर्यो ।

यो ब्ल्याक आउट मंगलबार बिहान भएको थियो र यी इलाकामा बेलुकी मात्रै बिजुली आपूर्ति बहाल हुन सक्यो । वास्तवमा यी तीनै देशको पावर ग्रीड आपसमा जोडिएका छन् र सोभियत निर्मित पावर लाइनको माध्यमले रुसको नेटवर्कसँग जोडिएको छ । यो कजाकिस्तानको माध्यमबाटै सञ्चालित हुन्छ ।

यदि बिजुली आपूर्तिमा अप्रत्यासित रुपमा कमी भयो भने उसले उनीहरुलाई रुसको ग्रिडबाट पावर लिन अनुमति दिन्छ । ग्रिड अपरेटर केईजिओसीले बताए अनुसार यो आपतकालीन असन्तुलनको स्थिति थियो र बिजुली आपूर्ति बन्द भएको थियो ।

कजाकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटी, किर्गिस्तान र उज्बेकिस्तानका थुप्रै शहरमा बिजुली आपूर्ति बन्द हुँदा मानिसले असाध्यै समस्याको सामना गर्नुपरेको थियो ।

ब्ल्याकआउटले यी तीनै देशका वरिपरिका थुप्रै प्रान्त पनि प्रभावित भए । मानिसले पिउने पानी, हिटर, पेट्रोल पम्प र इन्टरनेट सेवासँग जोडिएका दैनिक क्रियाकलापमा समस्या झेल्नुपर्यो । अस्पतालको काम जेनेरेटरको सहारामा चलाइयो तर थुप्रै स्थानमा रेल सुरुङमा फसिरह्यो । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com