न्युयोर्क सिटीको फुल्टन स्ट्रीटमा ६२ बर्षका पुरुषलाई धेकेलियो ट्रेनको लिकमा


प्रकाशित मिति : माघ १०, २०७८ सोमबार

न्युयोर्कको टाइम्स स्क्वायरमा एकजना एसियन महिलालाई ट्रेनको अगाडि धकेल्दा ज्यान गएको घटना सेलाउन नपाउँदै न्युयोर्कमा अर्को यस्तै घटना भएको छ । आइतबार अर्को एकजना व्यक्तिलाई न्युयोर्क सिटीको ट्रेनको लिकमा धकेलिएको छ ।

म्यानहटनको फुल्टन स्ट्रीटमा एकजना ६२ बर्षका पुरुषलाई ट्रेनको लिकमा धकेलिएको प्रहरीले जनाएको छ । ती व्यक्ति ट्रेनको पहिलो डिब्बामा ठोकिएर ट्रेनको लिकमा खसेका थिए । उनको खुट्टामा चोट लागेको छ भने उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । घटना विहान ११ बजेर २० मिनेटमा भएको जनाइएको छ ।

धकेल्ने व्यक्ति त्यहाँबाट भागेको र घटनासँग सम्बन्धित कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ । गत जनवरी १५ मा ४० बर्षकी एसियन महिला मिशेल एलिसा गोलाई एकजना होमलेसले ट्रेनको लिकमा धकेल्दा उनको मृत्यु भएको थियो । उनलाई धकेल्ने ६१ बर्षको मार्शल साइमन नामको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मानसिक स्वास्थ्य समस्याको इतिहास भएको उक्त व्यक्तिविरुद्ध सेकेण्ड डिग्री हत्याको अभियोग लगाइएको छ । अदालतले उक्त व्यक्तिको मानसिक स्वास्थ्यको मूल्यांकन गर्न आदेश दिएको छ । उक्त व्यक्तिले सुरुमा अर्कै महिलालाई निशाना बनाएपनि ती महिला शंका लागेर त्यहाँबाट अन्यत्रै लागेकी थिइन् । त्यसपछि उसले एसियन महिलालाई धकेलेको थियो ।

न्युयोर्क सिटीको सबवेमा पछिल्लो समयमा आक्रमणका घटनाहरु उल्लेख्य रुपमा भएका छन् । जसका कारण सबवेमा सुरक्षाका लागि बारको बन्दोबस्त हुनुपर्ने माग समेत उठेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com