पूर्वी युरोपमा सम्भावित तैनाथीका लागि साढे ८ हजार अमेरिकी सेना ‘हाई अलर्ट’ मा


प्रकाशित मिति : माघ १०, २०७८ सोमबार

युक्रेनको सिमानामा रुसी सेनाको भीड बढेसँगै पूर्वी युरोपमा सम्भावित तैनाथीका लागि ८ हजार ५ सय अमेरिकी सेनालाई उच्च शतर्कतामा राखिएको पेन्टागनका प्रवक्ता जोन किर्बीले बताएका छन् । अमेरिकाका डिपार्टमेन्ट अफ डिफेन्सका सेक्रेटरी लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा सेना तैनाथीका लागि शतर्कतामा राखेका हुन् ।

युक्रेनमा सम्भावित रसियन हस्तक्षेपविरुद्ध तयारीका लागि अमेरिकाले पछिल्लो कदम चालेको हो । नाटोको बललाई बलियो बनाउन अमेरिकी सेनालाई उच्च सतर्कतामा राखिएको भएपनि अन्य आकस्मिकताका लागि पनि तयार रहेको किर्बीले बताएका छन् । सोमबार दिउँसोसम्म अमेरिकी सेना तैनाथ गर्ने कुनै अन्तिम निर्णय नभएको जनाइएको छ ।

बाइडेनले शनिबार आफ्ना शीर्ष सैन्य अधिकारीहरूसँग बाल्टिक र पूर्वी युरोपमा अमेरिकी सेनाको स्तर बढाउने विकल्पहरूबारे छलफल गरेका थिए । अमेरिकाले सेनाहरू कहाँ तैनाथ गर्न सकिन्छ भन्नेबारे केही बताएको छैन । तर अमेरिकाले पूर्वी भागका सहयोगीहरूलाई आवश्यक परेमा तिनीहरूको क्षमता बढाउन तयार रहेको आश्वासन दिएको छ ।

अमेरिकाले आइतवार युक्रेनको कीभमा रहेको अमेरिकी दूतावासमा कर्मचारी कटौती गरिसकेको छ भने अत्यावश्यकबाहेकका कर्मचारीहरु र परिवारका सदस्यहरु त्यहाँबाट प्रस्थान गरिसकेका छन् । युक्रेनको सेनालाई बलियो बनाउन मद्दत गर्न अमेरिकाले पछिल्लो सातामा युक्रेनलाई दुईवटा हतियारको ढुवानी पठाएको थियो।

नाटो देशहरूले पूर्वी युरोपमा थप जहाज र लडाकु विमानहरू पठाउँदै छन् भने सेनालाई तयारी अवस्थामा राखेका छन्। युक्रेनी रक्षा मन्त्रालयको पछिल्लो खुफिया रिपोर्ट अनुशार रुसले यस क्षेत्रमा १ लाख २७ हजार भन्दा धेरै सेना तैनाथ गरिसकेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले के गर्ने योजना बनाएका छन् भन्नेबारे अमेरिकी अधिकारीहरू स्पष्ट छैनन् । पुटिनले युक्रेनमा हस्तक्षेप गर्ने निर्णय गरे नगरेकोबारे पनि स्पष्ट छैन ।

रसियाले कीभलाई नियन्त्रणमा लिने र सरकारलाई हटाउने प्रयास गरिरहेको केही खुफिया रिपोर्टमा जनाइएको छ । बेलायतको विदेश मन्त्रालयले शनिबार विज्ञप्तिमा निकालेर रुसी सरकारले कीभमा रुस समर्थक नेता स्थापना गर्ने योजना बनाइरहेको जनाएको थियो । मस्कोले भने हस्तक्षेपको योजना अस्वीकार गरेको छ ।

रसियाले यसअघि पनि युक्रेनी भूभाग कब्जा गरेको थियो । सन् २०१४ मा युक्रेनको महत्वपूर्ण भाग क्रिमिया रसियामा बिलय भएको थियो । सो घटनापछि युक्रेनमा मस्को समर्थित राष्ट्रपति सत्ताच्युत भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com